काठमाडौं। सेवानिवृत्त मुख्यसचिव सुमनराज अर्याललाई बिदाइ तथा नवनियुक्त मुख्य सचिव गोविन्दबहादुर कार्कीलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बिदाइ कार्यक्रममा निवर्तमान मुख्य सचिव अर्यालले करिब तीन दशक लामो निजामती सेवापछि अवकाश लिन लागेको उल्लेख गर्दै देश र जनताको सेवा गर्ने अवसर पाएकामा खुसी व्यक्त गरे। उनले जेनजी आन्दोलनपछिको संवेदनशील अवस्थामा मुख्य सचिवको जिम्मेवारी चुनौतीपूर्ण रहे पनि राजनीतिक नेतृत्व, प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार, संवैधानिक आयोग, निजामती कर्मचारी, सुरक्षा निकाय तथा सार्वजनिक निकायको सहयोगले जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न सकेको बताए।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले राजनीतिक सरकार अस्थायी भए पनि कर्मचारीतन्त्र स्थायी सरकार भएकाले मुलुक सञ्चालनमा निजामती प्रशासनको भूमिका महत्त्वपूर्ण रहेको बताए। सरकार र कर्मचारीतन्त्रबिच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उनले कर्मचारीको मूल्याङ्कन कामका आधारमा हुने स्पष्ट पारे।
देश निर्माणमा योगदान दिने व्यक्तिको कहिल्यै बिदाइ नहुने उल्लेख गर्दै राजनीतिक सल्लाहकार शाहले सेवा निवृत्त मुख्यसचिव अर्यालको अनुभव, ज्ञान र कार्यशैलीलाई सरकारले आगामी दिनमा पनि उपयोग गर्ने विश्वास व्यक्त गरे। साथै, नवनियुक्त मुख्यसचिव कार्कीको नेतृत्वमा निजामती प्रशासन अझ प्रभावकारी बन्ने अपेक्षा राखे।
नवनियुक्त मुख्य सचिव कार्कीले नयाँ जिम्मेवारी इमानदारी, निष्पक्षता र उत्तरदायित्वका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै सरकारले अघि बढाएका निजामती सेवा सुधारसम्बन्धी नीतिलाई सार्वजनिक प्रशासन र निजामती सेवाको हितमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा प्रधानमन्त्री शाहकातर्फबाट राजनीतिक सल्लाहकार शाहले सेवानिवृत्त मुख्यसचिव अर्याललाई कदरपत्र प्रदान गरे। प्रधानमन्त्रीको स्वकीय सचिवालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारी र सचिवहरूले उहाँको नेतृत्व, योगदान र समर्पणप्रति आभार प्रकट गर्दै मुख्यसचिव कार्कीलाई शुभकामना व्यक्त गरे। रासस











