काठमाडौं। चितवनका गायक तथा संगीतकार सहन प्रधानले पन्ध्र असारको दिन पारेर दीपक प्रधानले लेखेको ‘असारे पानी साउने झरी’ बोलको गीत बजारमा ल्याएका छन्।
गीतमा रामचन्द्र काफ्लेले स्वर दिएका छन्। संगीतकार प्रधानका अनुसार उक्त असारे गीतमा नेपाली मौलिक संस्कृति तथा पारम्परिक बाजाहरूको सम्वर्द्धन तथा जगेर्ना गर्नुपर्छ भन्ने हेतुले नेपाली मौलिक पारम्परिक बाजाहरू पञ्चेबाजा, नर्सिङ्गा, धिमे, भुस्या, सारंगी आदि प्रयोग गरिएको छ।
गीतको संगीत संयोजन विशाल गुरुङले गरेका हुन्। हिलोसँगको हाम्रो माया, खेतको हरियाली र किसानको अथक परिश्रममा समर्पित असार १५ को रमाइलोलाई थप रमाइलो गर्नको लागि द रेबल क्रियशनले ‘असारे पानी साउने झरी’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो।
उक्त म्युजिक भिडियोमा सन्दीप लोहनी, बिना राउत लगायतका कलाकारको अभिनय छ। भिडियोको निर्देशन शुभम् भुजेलले गरेका हुन्।











