काठमाडौं। लगातार तेस्रो महिना २ खर्बभन्दा बढीको वस्तु आयात भएको छ। भन्सार विभागका अनुसार जेठमा २ खर्ब १ अर्ब ४५ करोड रुपैयाँको वस्तु आयात भएको छ।
चालु आर्थिक वर्ष चैतयता लगातार २ खर्बभन्दा बढीको वस्तु आयात भएको छ। वैशाखमा २ खर्ब २ अर्ब ३९ करोड र चैतमा २ खर्ब १ अर्ब २४ करोड रुपैयाँको वस्तु आयात भएको तथ्यांक।
अमेरिका र इरानबीचको युद्धका कारण अन्तर्राष्ट्रिय बजार नै महँगिएका कारण मूल्यका आधारमा आयात लगातार तेस्रो महिना २ खर्ब नाघेको हो।
चालु आर्थिक वर्ष साउनमा १ खर्ब ४३ अर्ब, भदौमा १ खर्ब ६२ अर्ब ११ करोड, असोजमा १ खर्ब ६२ अर्ब ९२ करोड, कात्तिकमा १ खर्ब ४१ अर्ब, मंसिरमा १ खर्ब ५७ अर्ब, पुसमा १ खर्ब ७३ अर्ब, माघमा १ खर्ब ८४ अर्ब र फागुनमा १ खर्ब ६६ अर्ब रुपैयाँको वस्तु भित्रिएको तथ्यांक छ।
विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यो आर्थिक वर्ष जेठसम्म १८ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँको वस्तु भित्रिएको छ। यो आयात पोहोर १० महिनाको तुलनामा १५.१६ प्रतिशत बढी हो।
निर्यात १२.२८ प्रतिशतले बढेको छ। चालु आवको पहिलो ११ महिनामा नेपालबाट २ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। अघिल्लो वर्ष सोही अवधिमा २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको वस्तु निर्यात गरेको तथ्यांक छ।
आयातको तुलनामा निर्यात कम रहेकाले १६ खर्ब १६ अर्ब रुपैयाँ बराबर व्यापार घाटा भएको छ। व्यापार घाटा १५.६७ प्रतिशतले बढेको छ।










