काठमाडौं। नेदरल्याण्ड्सले स्वीडेनलाई हराएको छ। विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’को महत्वपूर्ण खेलमा नेदरल्यान्ड्सले स्विडेनलाई ५–१ गोलअन्तरले पराजित गर्दै समूहको शीर्ष स्थानमा उक्लिएको हो।
अमेरिकाको ह्युस्टन स्टेडियममा शनिबार राति भएको खेलमा नेदरल्यान्ड्सले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै स्वीडेनलाई दबाबमा राखेको थियो। स्वीडेनले जारी फिफा विश्वकपको आफ्नो पहिलो खेलमा ट्युनिसियामाथि स्वीडेनले ५-१ गोलकै रवाफिलो जित निकाल्दै सानदार सुरुवात गरेको थियो। दोस्रो खेलमा भने त्यति नै अन्तरले पराजित हुन पुग्यो।
बलियो प्रदर्शन गरेको नेदरल्यान्ड्सका लागि ब्रायन ब्रब्बीले खेलको पाँचौं मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए। उनले १७औं मिनेटमा डेनजेल डुम्फ्रिजको उत्कृष्ट पासलाई सदुपयोग गर्दै व्यक्तिगत दोस्रो गोल गरेपछि नेदरल्यान्ड्सले पहिलो हाफमै २-० को बलियो अग्रता बनायो।
पहिलो हाफको अन्त्यतिर स्वीडेनले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गुस्ताफ लागरबिल्केको हेडर अफसाइडका कारण मान्यता नपाउँदा स्वीडेन खेलमा फर्किन सकेन।
दोस्रो हाफ सुरु भएको दुई मिनेटमै कोडी गाक्पोले डुम्फ्रिजकै अर्को उत्कृष्ट क्रसलाई गोलमा परिणत गर्दै नेदरल्यान्ड्सलाई ३-० को अग्रता दिलाए। ५४औं मिनेटमा गाक्पोले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल लगभग एकतर्फी बन्यो।
स्वीडेनका लागि ५९औं मिनेटमा एन्थोनी एलांगाले अलेक्जान्डर इसाकको पासमा गोल गर्दै अन्तर घटाउने प्रयास गरे। तर त्यो गोल केवल सान्त्वनामै सीमित रह्यो।
खेलको ८९औं मिनेटमा क्रिसेन्सियो समरभिलले आकर्षक गोल गर्दै नेदरल्यान्ड्सको जितलाई ५-१ मा पुर्याए।
यो जितसँगै नेदरल्यान्ड्स दुई खेलबाट चार अंक जोड्दै समूह ‘एफ’को शीर्ष स्थानमा पुगेको छ। पहिलो खेलमा ट्युनिसियामाथि ५-१ गोलको जित निकालेको स्वीडेन भने यो हारपछि अन्तिम समूह खेलअघि दबाबमा परेको छ। अब नेदरल्यान्ड्सले आफ्नो अन्तिम समूह खेलमा ट्युनिसियाको सामना गर्नेछ भने स्वीडेनले जापानसँग प्रतिस्पर्धा गर्नेछ। नेदरल्याण्ड्स आफ्नो पहिलो खेलमा जापानसँग बराबरीमा रोकिएको थियो।
आजै यो समूहको अर्को खेलमा जापान र ट्युनिसिया बिहान पौने १० बजे भिड्नेछन्।











