७४ मिनेटपछि चार गोल गर्दै स्वीजरल्याण्डको प्रभावशाली जित, बोस्निया पराजित



बिजमाण्डू
२०८३ असार ५ गते ०४:२० | Jun 19, 2026
७४ मिनेटपछि चार गोल गर्दै स्वीजरल्याण्डको प्रभावशाली जित, बोस्निया पराजित
गोलगरेपछि स्विजरल्याण्डका खेलाडी। Photo: FIFA

स्वीजरल्याण्डले फिफा विश्वकप २०२६ मा पहिलो जित निकालेको छ। अमेरिकाको लस एन्जलसमा सम्पन्न समूह ‘बी’को खेलमा स्वीजरल्याण्डले अन्तिम समयमा उत्कृष्ट प्रदर्शन गर्दै बोस्निया–हर्जगोभिनालाई ४–१ ले पराजित गरेको हो।

Tata
GBIME
Nepal Life

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। स्वीजरल्याण्डले अधिकांश समय बल नियन्त्रणमा राखे पनि बोस्नियाको रक्षापंक्ति र गोलरक्षक निकोला भासिल्जलाई सुरुआती ७० मिनेटसम्म भेद्न सकेन।

प्रशिक्षक मुराट याकिनले दोस्रो हाफमा गरेका परिवर्तनले खेलको दिशा नै बदलिदियो। ७१औं मिनेटमा मैदान प्रवेश गरेका युवा मिडफिल्डर जोहान मान्जाम्बीले ७४औं मिनेटमा गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाए। रुबिन भार्गासको लगातार दुई प्रहार बोस्नियाली डिफेन्डरले रोक्न खोजे पनि रिबाउन्ड बलमा मान्जाम्बीले नजिकैबाट शक्तिशाली भली प्रहार गर्दै जाली चुमाए।

८०औं मिनेटमा बोस्नियाका डिफेन्डर तारिक मुहारेमोभिच रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि स्वीजरल्याण्ड झन् हाबी बन्यो। ब्रेल एम्बोलोमाथि फाउल गरेपछि अन्तिम डिफेन्डर रहेका मुहारेमोभिचले सिधै रातो कार्ड पाए।

त्यसको चार मिनेटपछि स्विट्जरल्यान्डले दोस्रो गोल थप्यो। मान्जाम्बीको पासमा एम्बोलोले बल अघि बढाएपछि भार्गासले पहिलो टचमै उत्कृष्ट फिनिस गर्दै टोलीको अग्रता दोब्बर बनाए।

९०औं मिनेटमा फेरि भार्गास र मान्जाम्बीकै संयोजनमा स्वीजरल्याण्डले तेस्रो गोल गर्‍यो। भार्गासको कटब्याक पासमा मान्जाम्बीले सहज फिनिस गर्दै व्यक्तिगत दोस्रो गोल पूरा गरे।

इन्जुरी समयको तेस्रो मिनेटमा एर्मिन माह्मिकले शानदार भलीमार्फत बोस्नियाका लागि सान्त्वना गोल फर्काए। तर खेलको अन्तिम क्षणमा स्वीजरल्याण्डले पेनाल्टी पायो। बोस्नियाका केनान मेमिकले जिब्रिल सोउमाथि पेनाल्टी क्षेत्रमा फाउल गरेपछि रेफ्रीले स्पट किकको संकेत गरेका थिए।

निर्धारित समय सकिनै लाग्दा कप्तान ग्रानिट झाकाले पेनाल्टीमा गोल गर्दै स्वीजरल्याण्डको ४–१ गोलको जित सुनिश्चित गरे।

यो जितसँगै स्वीजरल्याण्डले दुई खेलबाट चार अंक जोड्दै समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ र नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ। पहिलो खेलमा स्वीजरल्याण्ड कतारसँग र बोस्निया क्यानडासँग बराबरीमा रोकिएका थिए। पराजित बोस्निया–हर्जेगोभिनाको नौ खेलको अपराजित यात्रा पनि यही खेलबाट अन्त्य भएको छ। अब उसले अन्तिम समूह खेलमा कतारविरुद्ध जित निकाल्नै पर्ने दबाब सामना गर्नेछ।

यहि समूहका कतार र क्यानडा आजै प्रतिस्पर्धामा छन्।