काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले चिया निर्यातमा भारतीय अवरोध हटाउनका लागि पहल गर्न सरकारसँग आग्रह गरेको छ।
महासंघले बुधबार प्रेस विज्ञप्ति जारी गरी तत्काल ठोस कूटनीतिक कदम चाल्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग आग्रह गरेको हो।
‘चिया क्षेत्रमा आश्रित हजारौं किसान, मजदूर र उद्यमीहरूको भविष्यसँग जोडिएको यस संवेदनशील विषयलाई सरकारले उच्च प्राथमिकतामा राखी तत्काल कूटनीतिक ढंगबाट निकास निकाल्न महासंघ सरकारसँग आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
भारतीय चिया बोर्डले गत मे १ देखि नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिज’ र प्रत्येक खेपमा अनिवार्य परीक्षण गर्ने मापदण्ड लागू गरी नेपाली चिया निर्यातमा अवरोध गरेको छ। जसका कारण असार १ देखि चिया उद्योग बन्द भएका छन्।
महासंघले निर्यातमा आउने गुणस्तरसँग सम्बन्धित अवरोध हटाउन नेपालमा ‘एक्रिडेटेड ल्याब’ स्थापना गर्न आवश्यक रहेको बताएको छ।










