काठमाडौं। पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगम (एनएसी)लाई घाइते चराको संज्ञा दिंदै संरचनागत सुधारका लागि रणनीतिक रुपमा काम गरिरहेको बताएका छन्।
उनले बुधबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले बजेटमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा निजी क्षेत्रको सहभागितासहित निगमको संरचनागत सुधार गर्ने बताए।
‘घाइते भएको चराबाट हामी लामो उडानको अपेक्षा गर्न सक्दैनौं। त्यसैले संरचनागत सुधार आवश्यक छ। निजी क्षेत्रको सहभागितासहित निगमलाई उकास्ने हाम्रो योजना छ,’ उनले भने।
मन्त्री पौडेलले निगम अहिले बेथितिको भंगालोमा रहेको बताए। ‘६५ अर्बभन्दा बढी ऋण छ। वर्षमा दुई अर्बभन्दा बढी ऋण थपिइरहेको छ। एकदम दूरावस्थामा गएको छ। जहाजहरु ग्राउण्डेड हुने क्रम जारी छ। र बेथितिको भंगालो छ। त्यो सबैबाट पार पाउन हामीले रणनीतिक रुपमा काम गरिरहेका छौं,’ उनले भने।










