श्रीलंकाका पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेका छोरा योशिता राजापाक्षे पक्राउ परेका छन्। श्रीलंकाको भ्रष्टाचार अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको रोयटर्सले जनाएको छ। पक्राउ लगत्तै उनलाई कोलम्बोस्थित अदालतमा उपस्थित समेत गराइएको छ।
उनीमाथि सम्पत्ति शुद्धिकरण, सरकारी जग्गा हिनामिना तथा गैरकानुनी रुपमा नौसेनामा भर्ना भएका लगायतका बिभिन्न आरोप लागेका छन्।
राष्ट्रपति पदमा रहँदा महिन्दा राजापाक्षेले सन् २०१३ मा श्रीलंकन एयरलाइन्सका लागि एयरबस खरिदको डिलका क्रममा ६ करोड श्रीलंकाली रुपैयाँ घुस लिएको तथा महिन्दाको आमाको नाममा जग्गा खरिद लगायतका बिभिन्न गैरकानुनी काममा योशिताको संलग्नता बारे अनुसन्धान भैरहेको थियो।
यसअघि पनि उनलाई श्रीलंकाको द कमिसन टु इन्भेष्टिगेट एलिगेसन्स अफ ब्राइबरी अर करप्सनले पक्राउ गरी उनीमाथि लागेका आरोपहरुमाथि अनुसन्धान गरिरहेको थियो।

गत वर्ष यही आरोपमा पक्राउ परेका उनको मुद्दा कोलम्बोको अदालतमा बिचाराधिन थियो। अदालतले उनलाई धरौटीमा रिहा गरी थप अनुसन्धान गरिरहेको थियो।
उनी पूर्व राष्ट्रपतिका छोरा मात्र नभई श्रीलंकाका चर्चित रग्वी खेलाडी समेत हुन्। उनीमाथि आफ्ना बुवा पदमा रहेका बेला अवैध धन आर्जन तथा सरकारी स्रोतको दुरुपयोग गरेको आरोप छ।
श्रीलंकामा सन् २००५ देखि २०१५ सम्म महिन्दा राजापाक्षे राष्ट्रपति थिए। त्यसअघि एक वर्ष उनी श्रीलंकाका प्रधानमन्त्री समेत थिए।
बुवा पदमा रहँदा पारिवारिक र राजनीतिक रुपमा अकुत लाभ लिएका योशिताले अवैध धनआर्जन गरेको तथा सरकारी जग्गा हिनामिना गरेको आरोप उनीमाथि छ। नौसैनिक क्याप्टेनको रुपमा उनको नियुक्ति समेत गैरकानुनी भएको बताइएको छ।










