
काठमाडौ । मलेसियाको राष्ट्रिय ध्वजावाहक मलेसिया एयरलाइन्स(मास)ले भाडादर सार्वजनिक गरेको छ । भदौ १६ देखि क्वालालम्पुर– काठमाडौ उडान थाल्ने एयरलाइन्सले दुईतर्फी भाडा ४३ हजार २ सय ९० रुपैयाँ तोकेको हो । यो वाहेक एयरलाइन्सले अन्य गन्तब्यको भाडादर पनि तोकेको छ । नेपालको बजार हिस्सा लिन मासले युरोप, जापान लगायतको भाडादर सस्तो तोकेको छ ।
लक्जरी एयरलाइन्सभित्र पर्ने यो कम्पनीले काठमाडौंबाट अस्ट्रेलियाको सिड्नीका लागि दुइतर्फी एक लाख तीन हजार चार सय, मेलबर्नको दुईतर्फी एक लाख एक हजार सात सय, टोकियाको दुईतर्फी ९० हजार रुपैयाँ भाडा तोकेको छ । त्यसैगरी सियोलको ८१ हजार सात सय, सांघाई वा बेइजिङको ७६ हजार ३ सय, सिंगापुरको ५४ हजार ८ सय, पेनाङको ५१ हजार ४ सय र ब्रुनाईको ६१ हजार रुपैयाँ दुईतर्फी भाडा तोकेको छ । मास कनेक्टिङ फ्लाईट भएकोले नेपाली यात्रुलाई फाइदा हुने कम्पनीको दावी छ । कम्पनीले समेत मलेसिया उडानलाई मात्रै नभएर कनेक्टिङ फ्लाइटलाई लक्ष्य गरेर भाडादर एकैपटक ल्याएको हो ।
नेपालमा यो एयरलाइन्स आएपछि प्रतिस्पर्धा झनै थपिनेछ । अहिले काठमाडौं–क्वालालम्पुर रुटमा नेपाल वायु सेवा निगम र एयर एसियाले उडान भरिरहेका छन् । एयर एसिया बजेट एयरलाइन्स हो । एयर एसियाको समेत प्रर्वद्धनात्मक ‘एयर फेयर’ सकिइसकेको छ । एयर एसियाले दुईतर्फी टिकटको तीस हजार रुपैयाँ पर्छ भने नेपाल वायुसेवा निगमको दुईतर्फी भाडा ३२ हजार २५९ रुपैयाँ छ ।