आजै विश्वासको मत लिँदै देउवा, एमालेको २३ जनाले पनि मत दिने, यस्तो छ अंकगणित



बिजमाण्डू
२०७८ साउन ३ गते १०:३५ | Jul 18, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरेका छन्। यसबारे संसद् सचिवालयमा जानकारी गइसकेको बताइएको छ।

नेपाली कांग्रेसको कार्य व्यवस्था समितिको बैठकबाट प्रस्ताव लगेसँगै देउवाले विश्वासको मत लिनेछन्। कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले कार्य व्यवस्था समितिको बैठकमा विश्वासको मतका लागि प्रस्ताव गरिसकेका छन्।

आजै विश्वासको मत लिने गरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन्।

असार २८ गते सर्वोच्च अदालतको परमादेशपछि २९ गते देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। देउवालाई ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।

त्यसैले पहिलो बैठकमै विश्वासको मत लिने तयारीमा देउवा पुगेका हुन्। यसका लागि देउवाले एमालेका माधव नेपाल पक्षलाई मनाइसकेका छन्।

देउवालाई १३६ मत भए पुग्ने

प्रधानमन्त्री देउवालाई विद्यामन संसद संख्यामा १३६ मत भए पुग्ने देखिन्छ। हाल २७१ जना सांसद कायम छन्।

कांग्रेसका ६१, एमाले १२१, माओवादीका ४९, जसपा ३२, जनमोर्चा १, नेमकिपा १ र राप्रपा १ जना गरी हाल संसदमा २७१ जना सांसद छन्। एमालेका २३ जनाले पनि मत दिने भएका छन्।

जसमध्ये एमालेका ९८ जना, नेमकिपा, राप्रपा र जसपाका केही सांसदले विश्वासको मतको विपक्षमा मत दिने छन्। यसरी हेर्दा देउवाले डेढ सयको हाराहारीमा मत पाउने अनुमान गरिएको छ।