काठमाडौंका मेयर शाक्य पुगे बाढीग्रस्त मेलम्ची, तीन पालिकालाई तीन करोड सहयोग हस्तान्तरण



बिजमाण्डू
२०७८ असार ७ गते १९:१३ | Jun 21, 2021
काठमाडौंका मेयर शाक्य पुगे बाढीग्रस्त मेलम्ची, तीन पालिकालाई तीन करोड सहयोग हस्तान्तरण

Tata
GBIME
Nepal Life

मेलम्ची । सिन्धुपाल्चोकको बाढीग्रस्त मेलम्ची नगरपालिकासँगै पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई काठमाडौं महानगरपालिकाले राहत तथा उद्दारका लागि तीन करोड रुपैयाँ सहयोग गरेको छ।

महानगरपालिकाका मेयर विद‍्यासुन्दर शाक्यले उक्त सहयोग रकम यी पालिकाहरुलाई हस्तान्तरण गरेको हो।

सोमबार महानगर प्रमुख शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहितको टोली मेलम्ची पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन्।

मेयर शाक्यले महानगरपालिकाको तर्फबाट काठमाडौं महानगरसँग भगिनी सम्बन्ध स्थापित मेलम्ची नगरपालिकालाई दुई करोड र दुई पालिकालाई ५०/५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा यसअघि नै गरेका थिए।

सहयोग रकम हस्तान्तरणसँगै शाक्यसहितको टोलीले सिन्धुपाल्चोकका मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीबाट क्षतिग्रस्त स्थलको अवलोकन समेत गरेको छ ।

निरिक्षणपछि बोल्दै बाढीग्रस्त सिन्धुबासीका लागि थोरै भए पनि उक्त रकमले सहयोग पुग्ने अपेक्षा लिएको शाक्यले बताए।। ‘मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङपालसँग काठमाडौं महानगरपालिकाको सम्बन्ध जोडिएको छ,’ उनले भने, ‘यहाँको नदीको पानीबाट काठमाडौंबासी प्यास मेटाउन आतुर छन् । त्यसैले पनि यहाँका पालिकासँग हाम्रो अतुलनीय सम्बन्ध छ । यो सहयोग रकम ठूलो होइन । तर, यहाँका बासिन्दाको पीडामा थोरै भए पनि यसले मल्हमको काम गर्छ भन्ने हामीले अपेक्षा गरेका छौं।'

मेलम्ची क्षेत्रको क्षतिको तुलनामा महानगरपालिकाले गरेको सहयोग निकै सानो भएको बताउँदै शाक्यले भने, ‘मेलम्चीसँग हाम्रो भगिनी सम्बन्ध छ। सम्बन्ध स्थापित भएको पालिकाका बासिन्दालाई परेको दुःखमा साथ दिनु हाम्रो कर्तव्य हो,’ उनले भने, ‘त्यसैले म आफैं यहाँका बासिन्दाको दुःखमा थोरै भए पनि साथ दिन सकियोस् भन्ने हेतुले यो सहयोग रकम लिएर आएको हुँ। यहाँका जनताको दुःखमा काठमाडौं महानगरपालिका साथमा छ भन्ने बोध गराउन पनि आएका हौं।’ उनले आगामी दिनमा पनि सहकार्यको हात अघि बढाउन तयार रहेको बताए।   

‘मेलम्चीबासीलाई पीडा पर्दा काठमाडौं महानगरपालिकाका प्रमुखसहितको टिम मल्हम लगाउनु आउनु भएको छ । मेलम्ची र सिङ्गो यो क्षेत्रका जनताको तर्फबाट यहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु,’ स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले भने, ‘यो दुःखका बेला गरेको सहयोगले हामीलाई थप ऊर्जा प्राप्त भएको छ।’