प्रदेश १ ले ल्यायो नीति तथा कार्यक्रम: उदयपुर सिमेन्टमा लगानीदेखि विद्युतीय बससम्मको योजना

बिजमाण्डू
२०७८ जेठ २७ गते २०:४९ | Jun 10, 2021
प्रदेश १ ले ल्यायो नीति तथा कार्यक्रम: उदयपुर सिमेन्टमा लगानीदेखि विद्युतीय बससम्मको योजना

काठमाडौं। प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।

Tata
GBIME

प्रदेश १ सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ। प्रदेश मुख्यमन्त्री शेरधन राईले प्रदेश सभासमक्ष नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

यस प्रदेशले केन्द्र सरकारको मातहत रहेको उदयपुर सिमेन्ट उद्योगमा समेत प्रदेश सरकारले लगानी गर्ने योजना नीति तथा कार्यक्रममा राखेको छ। यस्तै, विद्युतीय बस र जलविदयुत आयोजनाहरुमा पनि लगानी गर्ने योजना समेटिएको छ । 

प्रदेश सरकारले कोभिड खोपमा सबैको समान सहभागिता सुनिश्चित गर्ने उल्लेख गरेको छ।

राष्ट्रिय अर्थतन्त्रमा प्रदेश १ ले १५.६ प्रतिशत योगदान पुर्‍याउने अनुमान छ। यस्तै चालु वर्षमा यस प्रदेशले ३.६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने अनुमान छ।

नीति तथा कार्यक्रममार्फत प्रदेशमा स्वास्थ्य व्यवस्था चुस्त दुरुस्त राख्नका लागि उल्लेख्य प्रयास गरिने बताइएको छ। यस्तै वैदेशिक रोजगारीका लागि भाषा कक्षाहरु सञ्चालन गर्ने पनि उल्लेख छ।

सरकारी विद्यालय भवनहरु गुणस्तरीय बनाइएको जिकिर गरिएको छ। १४ वटै जिल्लाहरुमा नर्सिङ कार्यक्रम सुरु गर्ने प्रदेश सरकारको तयारी छ। यस्तै जेष्ठ नागरिकलाई दाँत उपहार कार्यक्रमलाई निरन्तरता दिने कार्यक्रम पनि राखिएको छ। विभिन्न तीर्थयात्रा गर्नका लागि सहयोग गर्ने समेत भनिएको छ। यसैगरी प्रदेशले सञ्चालन गर्ने आयोजनाहरुमा जनतालाई अधिकतम रोजगारी प्रदान गरिने उल्लेख छ ।

कृषि क्षेत्रमा आधुनिकरण गरी मल तथा बिउ बिजन उपलब्ध गराउनुका साथै कृषि यान्त्रिकरणमा ध्यान दिइने योजना समेटिएको छ ।

नयाँ उद्योग सञ्चालन गर्ने व्यक्तिलाई ज्ञान, सीपसहित बिउ पुँजीको व्यवस्था गरिने बताइएको छ । जडीबुटी तथा फलफूल क्षेत्रको विकास गर्न दुई लाख ८४ हजार बिरुवा रोप्ने योजना समेटिएको छ । 

यसैगरी, बनिरहेका ५६ वटा पुलहरुको निर्माण सम्पन्न गर्नका लागि उल्लेख्य बजेट विनियोजनको जिकिर गरिएको छ। यस्तै, १० वटा मोटरेवल पुलको निर्माण कार्य अघि बढाउने भनिएको छ ।