(1)(1)(3).jpg)
काठमाडौं । धान रोप्ने सिजन नजिकिँदै जाँदा यतिबेला किसानले मल पाउन सकिरहेका छैनन् । काठमाडौंसँगै जोडिएका जिल्लामा समेत मल नपाइएको गुनासो किसानहरुबाट आउन थालेको भएपनि मल अभाव नरहेको दाबी सरकारी निकायका अधिकारीहरुको छ ।
प्रायः हरेक वर्ष मकै तथा धान बालीको सिजनमा किसानहरुले रासायनिक मल अभावबाट गुज्रिनुपरेको अवस्था रहँदै आएको छ । यसपालि भने मलको संकट नहुने जिकिर कृषि तथा पशुपन्छी मन्त्रालयले गरेको छ ।
तत्काल मल अभावको कारण भने हाल लागु निषेधाज्ञा भएको मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेको बताए । उनका अनुसार, पछिल्लो एक महिनादेखि देशभर लागु निषेधज्ञाका कारण बजारमा रासायनिक मलको अभाव देखिन थालेको हो।
कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलको दाबी पनि अहिले मल अभाव नरहेको भन्ने छ। उनी भन्छन्, निषेधाज्ञाका कारण प्रहरी प्रशासनले मल बोकेका ट्रक रोक्ने हुँदा लोड भएका ट्रक पनि कतै जान नसक्ने अवस्था छ। कामदारहरु पनि कहिँ जान नसक्ने भएकाले अहिले मल आपूर्ति केही असहज भएको हो।'
पोखरेलले दैनिक मल बिक्री पनि भइरहेको बताए। उनका अनुसार बुधबारमा मात्र कृषि सामग्री कम्पनीले २४ सय टन मल बिक्री गरेको छ।
मल ढुवानीका लागि कृषि सामग्री कम्पनीको सवारी साधन छैन। भाडामा लिएर मल पठाउँदा तोकिएको समयभन्दा बढी लाग्ने गरेको छ।
यसका बाबजुद उपत्यकानजिकका क्षेत्रहरुमा मलको अभाव छैन भने बाहिरका जिल्लाहरुमा ढुवानी हुन नसक्दा किसानलाई यतिबेला मल उपलब्ध हुन नसकेको कृषि सामग्री तथा साल्ट्र टेडिङको भनाइ छ। लकडाउन खुलेलगत्तै देशभर ढुवानी सुचारु गरेर आपूर्ति सहज गरिने बताइएको छ।
नेपालमा मलको कुल मागमध्ये ७० प्रतिशत कृषि सामग्री कम्पनी लिमिटेडबाट आपूर्ति हुँदै आएको छ भने बाँकी माग साल्ट ट्रेडिङले पूरा गर्दै आएको छ।
बंगलादेशबाट जीटुजीमार्फत आयात गरेको कुल ५० हजार टन मलमध्येको १९ हजार मेट्रिक टन मल पनि अहिले आउने प्रक्रियामा रहेको बताइएको छ। यसबाहेक चीनबाट समेत ३० हजार मेट्रिक टन युरिया मल पनि आउँदै छ। यी दुवैतर्फको मल केही दिनभित्रै आइपुग्ने र सोपछि अहिले भएको समेत गरेर सवा एक लाख मेट्रिक टन हाराहारीमा मल हुने जनाइएको छ।
यसकारण तत्काल निषेधाज्ञाले मल अभावजस्तो देखिएको भएपनि यस वर्ष मल संकट नहुने भनाइ मन्त्रालयको छ।
हाल कृषि सामग्री कम्पनीसँग युरिया मल २० हजार मेट्रिक टन र डिएपी ४० हजार टन मौज्दातमा रहेको जनाइएको छ। साल्ट ट्रेडिङसँग पनि करिब ४२ हजार टन मल मौज्दातमा रहेको संस्थानका सूचना अधिकारी कुमार राजभण्डारीले बताए। यस हिसाबले समग्रमा करिब एक लाख टन मल अहिले यी दुई संस्थानसँग मौज्दातमा छ। थप आउँदै गरेको ६९ हजार टन मलमध्ये युरिया मात्र ४० हजार टन रहेको छ।
अहिले भएको र बाटोमा भएको मलले नै साउन सम्मको माग धान्ने अनुमान छ। साउनपछिका लागि चाहिने थप मल आयातका लागि पनि टेन्डर खुलाउने तयारीमा भइरहेको छ। भारतबाट पनि जी टु जीमार्फत मागको ३० प्रतिशत रासायनिक मल आयात गर्ने योजना सरकारको छ।
यसकारण पनि मन्त्रालयले यो वर्ष किसानले मल अभाव भोग्न नपर्ने बताएको हो। तर अहिले नेपालमा वार्षिक कम्तिमा ६ देखि ७ लाख टन मलको माग रहेको अनुमान छ भने वर्षमा साढे तीन लाख टन हाराहारी मात्र आयात हुने गरेको छ। यसका बाबजुद अघिल्ला वर्षहरु जस्तो यसपटक मल अभाव नहुने दाबी गरिएको हो।
गत वर्ष मल आयात गर्न ठेक्का पाएका दुई कम्पनीले समयमै मल आयात नगर्दा पनि धान रोप्ने समयमा मलको अभाव भएको थियो।
पोहोर कोभिड-१९ संक्रमणको जोखिम मोलेर लाइन बस्दा पनि किसानले आवश्यक परेको भन्दा कम परिमाणमा मल खरिद गर्न पाएका थिए। ठेक्का दिएका कम्पनीले मल नल्याउँदा अत्यावश्यक समयमा नै अभाव गहिरिएपछि मल संकटको विषयलाई लिएर सरकारको चौतर्फी आलोचना भएको थियो। सोहीपश्चात सरकारले जी-टु-जीमार्फत बंगलादेशसँग ५० हजार मेट्रिक टन मल आयात गर्न प्रक्रिया अघि बढाएको थियो।











