काठमाडौं। ‘परराष्ट्र मामिला र कूटनीतिक आचारसंहिता’का सम्बन्धमा परराष्ट्र मन्त्रालयले मन्त्रीहरुलाई प्रस्तुती दिएको छ।
मन्त्रालयले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक कार्यक्रम राखेर सबै मन्त्रीहरुलाई ‘परराष्ट्र मामिला र कूटनीतिक आचारसंहिता’बारे प्रस्तुती गरेको हो।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले अन्तर्राष्ट्रिय परिवेश, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितको प्रवर्धन र समग्र परराष्ट्र नीतिबारे प्रस्तुती दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सचिव राईले परराष्ट्र नीति सञ्चालन गर्दा अपनाउनुपर्ने विधि, सीमा र कूटनीतिक मर्यादाका सम्बन्धमा सूक्ष्म ढङ्गले जानकारी गराए।
उनले परराष्ट्र नीतिका प्राथमिकता, सम्बन्धको सन्तुलन र कूटनीतिक आचारसंहिताका प्राविधिक पक्षहरूबारे प्रष्ट पारेका थिए।
विदेशी पदाधिकारीसँग हुने भेटवार्ताका क्रममा पालना गर्नुपर्ने सामान्य शिष्टाचारदेखि कूटनीतिक आचारसंहिता अनिवार्य पालनाका विषयमा समेत प्रस्तुती गरिएको थियो।











