काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले करको दर घटाउन चाहेको बताएका छन्।
उनले सोमबार आफूलाई बधाई दिन मन्त्रालयमा उपस्थित भएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको टोलीसँग सरकारले करको दर घटाएर राजस्व संकलन बढाउन चाहेको बताएका हुन्।
उनले सरकार निजी क्षेत्रमैत्री भएको भन्दै नीति पनि त्यही अनुसार आउनेमा ढुक्क हुन आग्रह गरेको नाडाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।।
अर्थमन्त्रीसामु नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले सरकारले अटोमोबाइल क्षेत्रलाई प्रवर्धन गर्ने नीति लिने विश्वास रहेको बताए। उनले अटो बजार चलायमान हुँदा रोजगारीका साथै राजस्व पनि बढ्ने भन्दै कच्चा पदार्थ आयातमा छुट दिन आग्रह गरे। उप्रेतीले अर्थमन्त्री वाग्लेलाई नाडाका तर्फबाट ३६ बुद्ददे सुझाव दिएका छन्।
टोलीमा नाडाका निवर्तमान अध्यक्ष करण चौधरी, विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठ, उपाध्यक्ष विक्रम सिंघानिया र अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणि पाठक सहभागी थिए।











