निर्वाचनमा अन्तरघातको आरोपमा ५०७ नेतालाई कांग्रेसले सोध्यो स्पष्टीकरण, सात दिनको समय



बिजमाण्डू
२०८२ चैत्र १८ गते १६:२८ | Apr 1, 2026
निर्वाचनमा अन्तरघातको आरोपमा ५०७ नेतालाई कांग्रेसले सोध्यो स्पष्टीकरण, सात दिनको समय
कांग्रेसको केन्द्रीय समितिको बैठक। फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले फागुन २१ गतेको निर्वाचनमा अन्तरघात गरेको आरोप लागेका नेताहरुलाई स्पष्टीकरण सोधेको छ।

Tata
GBIME
Nepal Life

पार्टी कार्यालय सानेपामा बुधबार बसेको अनुशासन समितिको बैठकले अन्तरघात गरेको आरोप लागेका नेताहरुलाई सात दिनको समय दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

समितिका संयोजक तारामान गुरुङले फागुन २१ गतेको निर्वाचनमा लज्जास्पद हार हुनुमा अन्तरघात नै मुख्य कारण भएकाले त्यस्तो पार्टीका उम्मेदवारलाई हराउन लागेका नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको बताए।

निर्वाचनमा हारपछि कांग्रेसमा जिल्ला जिल्लाबाट अन्तरघात भएको रिपोर्ट आएको छ। त्यसपछि अनुशासन समितिको बैठक राखेर स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो।

‘छानबिनबाट वर्गीकरण गरिएका उजुरीको हकमा अनुशासन उल्लघंन गरेको भनी आरोप लागेका व्यक्तिहरुबाट ७ (सात) दिनभित्र स्पष्टीकरण माग गर्ने निर्णय गर्दछ,’ बैठकपछि केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापामगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

फागुन २१ गतेको निर्वाचनमा अनुशासन उल्लघंन गरिएको भनी विभिन्न जिल्ला र प्रतिनिधि सभा सदस्यका उम्मेदवारले अनुशासन समितिमा हालसम्म ५०७ जना व्यक्तिविरुद्ध दिएको उजुरीलाई वर्गीकरण गरी टुंगोमा पुर्‍याउने समितिले जनाएको छ।

यस्ता आरोप लागेकासँग मागियो स्पष्टीकरण

(क) निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र प्रस्तावक समर्थक बसेका।

(ख) निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध प्रचार प्रसारमा प्रत्यक्ष सहभागी भएका।

(ग) पार्टी उम्मेदवारविरुद्ध अप्रत्यक्ष रुपमा विपक्षीलाई टेवा पुर्‍याएका।

(घ) निर्वाचनमा नेपाली कांग्रेसलाई मत नमागी साइलेन्स किलिङको काम गरेका।

(ङ) कांग्रेसबाट जनप्रतिनिधि निर्वाचित भई प्रतिनिधि सभाको निर्वाचनमा विपक्षीलाई सहयोग गरेका।