राखेपलाई पेलेरै चुनावमा जाने निर्णय लिएको एन्फालाई निलम्बन, फिफाबाट प्रतिबन्धको खतरा!



बिजमाण्डू
२०८२ चैत्र ११ गते १९:५० | Mar 25, 2026
राखेपलाई पेलेरै चुनावमा जाने निर्णय लिएको एन्फालाई निलम्बन, फिफाबाट प्रतिबन्धको खतरा!

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ। राखेपलाई पेलेरै अर्ली इलेक्सनमा जाने निर्णय गरेपछि मंगलबार २४ घण्टे स्पष्टीकरणमा किन कारवाही नगर्ने? भनेर सोधेको राखेपले आज एन्फालाई तीन महिना निलम्बन गर्ने निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

राखेपले प्रचलित कानून, नियमावली तथा निर्देशनको पालना नगरेको आरोप लगाउँदै एन्फालाई चैत ११ गतेको निर्णयमार्फत निलम्बन गरेको हो। यसअघि परिषद्ले एन्फासँग स्पष्टीकरण माग गरेको थियो।

सम्बन्धित समाचार: एन्फाले निर्देशन नटेरेपछि राखेपले काट्यो २४ घण्टे स्पष्टीकरण पत्र, ‘किन कारबाही नगर्ने?’

एन्फाले भने परिषद्लाई पठाएको जवाफमा आफूले कुनै पनि कानुनी प्रावधान उल्लंघन नगरेको दाबी गरेको थियो। एन्फाका अनुसार राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार परिषद्ले दिएका निर्देशनहरूको पालना गर्दै आएको र प्राप्त सबै पत्रहरूको जवाफ समयमै दिइएको उल्लेख गर्दै चुनाव रोक्न नसकिने जनाएको थियो। एन्फामा १३ गते चुनावी साधारणसभाको तयारीमा एन्फा छ।

सम्बन्धित समाचार: एन्फामा लफडैलफडा : कानुन मिचेरै भए पनि चुनाव गर्ने हठ, प्रतिबन्धको जोखिम!

एन्फाले आजै पठाएको आफ्नो जवाफमा विशेषगरी निर्वाचन प्रक्रियालाई लिएर धारणा स्पष्ट पारेको थियो। संघले फिफा र एएफसी का निर्देशनअनुसार काम गर्नुपर्ने बाध्यता रहेको जनाउँदै बाह्य हस्तक्षेप भए अन्तर्राष्ट्रिय प्रतिबन्धको जोखिम रहने चेतावनी दिएको थियो।

पत्रमा एन्फाले परिषद्को हस्तक्षेपका कारण नेपालको फुटबल अन्तर्राष्ट्रिय गतिविधिबाट प्रभावित हुनसक्ने, आर्थिक तथा प्राविधिक सहयोग रोकिन सक्ने र देशको फुटबल नै संकटमा पर्न सक्ने उल्लेख गरेको थियो। तेस्रो पक्षको हस्तक्षेप यसलाई फिफाले ठानेको खण्डमा नेपाली फुटबललाई निलम्बन गर्न सक्छ।

सम्बन्धित समाचार: राखेपलाई फिफाको डर देखाएर निर्वाचन गर्दै एन्फा, १३ गतेको साधारण सभालाई सचिवालय बन्द!

यद्यपि, राखेपले एन्फाको स्पष्टीकरणलाई असन्तोषजनक ठहर गर्दै कारबाही अघि बढाएको हो। परिषद्का अनुसार एन्फाले आवधिक निर्वाचन प्रक्रिया अघि बढाउँदा आवश्यक समन्वय र स्वीकृति नलिएको तथा पटक–पटकका निर्देशन बेवास्ता गरेको निष्कर्ष निकालिएको छ।

राखेपले एन्फालाई तीन महिनासम्म निलम्बन गर्दै विधान संशोधन, कानुनी दायराभित्र निर्वाचन प्रक्रिया सञ्चालन तथा नियमित चार वर्षे निर्वाचन सुनिश्चित गर्न निर्देशन दिएको छ।

यसमा एन्फाले भने आफू स्वायत्त संस्था भएकाले आफ्नो विधानअनुसार निर्वाचन मिति, समय र स्थान निर्धारण गर्ने पूर्ण अधिकार रहेको जिकिर गरेको थियो।

एन्फाले जिल्ला र प्रदेश अधिवेशन नगरी पुरानै प्रतिनिधिको उपस्थितिमा चैत १३ गते साधारण सभा गर्न लागेको विषयलाई लिएर राखेपले यसअघि नै पटकपटक असन्तुष्टि जनाएको थियो। राखेपले खेलकुद विकास ऐन र नियमावली अनुसार प्रक्रिया पूरा नभएको भन्दै निर्वाचन स्थगित गर्न निर्देशन दिएकामा एन्फाले बेवास्ता गर्दै आएको छ।

संघीय निर्वाचनको समेत उदाहरण दिँदै एन्फाले जिल्ला र प्रदेशको निर्वाचन नगरी केन्द्रको चुनाव गर्ने तयारी अघि बढाएको छ। यसो गर्दा दोहोरिने योजना पूरा हुने एन्फा नेतृत्वको बुझाइ छ।

जिल्ला र प्रदेशको निर्वाचन नगराइ यसअघि आफूलाई जिताउने पुरानै प्रतिनिधिको उपस्थितिमा चुनाव गरेर दोहोरिने एन्फा नेतृत्वको योजनाको संस्थापन इतर र स्टेकहोल्डरले विरोध गरिरहेका छन्।

एन्फाले झापामा हुने साधारण सभाका लागि भन्दै मंगलबारदेखि सातदोबाटोस्थित मुख्यालय बन्द गरेको प्रेस विज्ञप्ति निकालेको थियो।

एन्फा र राखेपबीचको टकरावले नेपाली फुटबल अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को प्रतिबन्ध प्रतिबन्धको संघारमा पुगेको अनुमान गर्न थालिएको छ। यस्तै स्थितिबाट गुज्रिएका दक्षिण एसियाली राष्ट्रहरु भारत, पाकिस्तान र श्रीलंकाले फिफाको प्रतिबन्ध झेलिसकेका छन्।