फागुन ११ पछि अन्योलग्रस्त सेयर बजार सिधा रेखामा आयो, कारोबार रकम भने पाँच अर्बभन्दा कम



बिजमाण्डू
२०७७ फागुन २५ गते १५:३९ | Mar 9, 2021
फागुन ११ पछि अन्योलग्रस्त सेयर बजार सिधा रेखामा आयो, कारोबार रकम भने पाँच अर्बभन्दा कम

Tata
GBIME
Nepal Life

काठमाडौं। फागुन ११ गते संकटकालको हल्लाले बजारमा निकै उतारचढाव आयो। त्यसपछिका सबै कारोबार अस्थिर रह्यो।

त्यो बीचमा एक दिन सूचक ९० अंकले बढ्नु बाहेक धेरै दिन घटेरै बन्द भएको नेप्से सूचकमा दैनिक १०० अंकसम्म तल-माथि हुने गरेको थियो। मंगलबारको सेयर बजार पनि सुरुवाती समयमा केही समय छिनमै बढ्ने र छिनमै घट्ने उतारचढाव देखिए पनि एक घण्टापछि भने बजार एउटै रेखामा अघि बढेको थियो।

दिनभरजसो २०/२२ अंकको गिरावटमा कारोबार भइरहेको बजारमा अन्तिम १५ मिनेटमा भने थप ६/७ अंकले घटेर ३० अंकसम्म घटेको थियो। तर अन्तिम मिनेटमा केही जलविद्युत कम्पनीको सेयर मूल्य बढेपछि समग्रमा नेप्से सूचक २३ अंकले घटेर २४६१ बिन्दुमा रोकिएको छ।

विगतमा बजार घट्नेबित्तिकै बिक्री चाप बढेर बजार घट्दा निकै घट्ने र बढ्दा पनि धेरैबेर वृद्धि कायम गर्न नसक्ने अवस्था थियो। मंगलबार भने बजार घट्दा पनि बिक्री चाप बढेको देखिदैन। त्यसैले रातो भएको बजार पनि दिनभर जस्तो एउटै रेखामा अघि बढेको बजार विश्लेषकहरुले बताएका छन्।

पाँच कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो

मंगलबार २१० कम्पनीका एक करोड २४ लाख कित्ता सेयर चार अर्ब ७५ करोड रुपैयाँमा किनबेच भएका छन्। ११ कम्पनीको मूल्य स्थिर रहँदा ४० कम्पनीको सेयर मूल्य बढेको छ। बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ।

हिमालयन ऊर्जा विकास, चन्द्रागिरी हिल्स, नेपाल हाइड्रो, रैराङ हाइड्रो र युनाइटेड फाइनान्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ। सपोर्ट माइक्रो फाइनान्स र मिथिला लघुवित्तको सेयर मूल्य करिब ५/५ प्रतिशतले घटेको छ।

शिखर इन्स्योरेन्सको सर्वाधिक ६५ करोड ३५ लाख रुपैयाँको सेयर किनबेच हुँदा माथिल्लो तामाकोशीको २९ करोड ६७ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २९ करोड ३२ लाख रुपैयाँ, निफ्राको २५ करोड ४९ लाख रुपैयाँ र नेपाल टेलिकमको १७ करोड ६५ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

अरुण भ्यालीको सर्वाधिक ८ लाख कित्ता सेयर किनबेच हुँदा माथिल्लो तामाकोशी र निफ्राको करिब ५/५ लाख कित्ता सेयर किनबेच भएका छन्। हाइड्रोपावर, होटल तथा पर्यटन र म्युचुअल फण्ड बाहेकका सबै उपसमूहको सूचक घटेको छ। होटल तथा पर्यटन ६८ र हाइड्रोपावर ३६ अंकले बढेका छन्।

जीवन बीमा समूह २०१ अंकले घट्दा निर्जीवन बीमा समूह ११४ अंक, उत्पादन समूह ८८ अंक, व्यापार समूह ४९ अंक र लघुवित्त समूह ४७ अंकले घटेका छन्।