काठमाडौं। हिमालयन रिइन्स्योरेन्सलाई बिजनेस दिएर सरकारी लगानी रहेको नेपाल पुनर्बीमा कम्पनीबाट हिल्टन होटलको रिइन्स्योरेन्स दायित्व भुक्तानी गराउने प्रिपेड बिचौलिया समूहको योजनामा ठेस लागेको छ।
हिल्टन हाेटलकाे रिइन्स्याेरेन्सकाे दायित्व भुक्तानी गराएर नेपाल रिलाई डुबाउने प्रयासमा लागेका योजनाकार नै कारबाहीमा परेका छन्।
होटलको इन्स्योरेन्स गरेको दि ओरियण्टल इन्स्योरेन्स, नेपाल रिबाट पुनर्बीमा व्यवसाय खोस्न मुख्य भूमिका निर्वाह गरी दायित्वको भारी बोकाउन खोजेको उक्त समूहको एलियन्ट रिइन्स्योरेन्स ब्रोकर्स र हिमालयन रि इन्स्योरेन्स कारबाहीमा परेका हुन्।
नेपाल बीमा प्राधिकरणले एलियन्ट रिइन्स्योरेन्स ब्रोकर्सलाई तीन महिनाका लागि निलम्बन गरेको छ भने हिमालयन रि इन्स्योरेन्स र दि ओरियण्टल इन्स्योरेन्सलाई २/२ लाख रुपैयाँ जरिवाना गरेको छ। यस्तै, नेपाल रिका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापालाई सुधारका लागि कबुलियत गराइएको छ।
बीमा ऐन र निर्देशन विपरीत काम गरेको भन्दै प्राधिकरणले एलियन्ट रिइन्स्याेरेन्स ब्राेकरलाई निलम्बन गरेको हो।
‘हिल्टन होटलको रिइन्स्योरेन्समा जोडिएका सबैलाई प्राधिकरण सञ्चालक समितिले कारबाहीको निर्णय गरेको छ। यसमा मुख्य भूमिका रहेको एलिएन्ट ब्रोकर्सको लाइसेन्स नै तीन महिनालाई निलम्बन गरिएको छ,’ प्राधिकरणकी निर्देशक पुजन ढुंगेलले भनिन्, ‘नेपाल रिइन्स्योरेन्सका सीइओलाई प्राधिकरणमै बोलाएर कबुलियत गरिएको छ। हिमालयन रि र ओरियन्टललाई जरिवाना गर्ने निर्णय भएको छ।’
करिब आठ अर्ब रुपैयाँमा बनेको होटलमा बैंक तथा वित्तीय संस्थाको पाँच अर्ब दुई करोड रुपैयाँ कर्जा लगानी छ। होटलको बीमा दि ओरियण्टल इन्स्योरेन्सले गरेको थियो।
प्राधिकरणले हुलदंगा तथा आतंकवाद जोखिम अन्तर्गत पुनर्बीमा गर्ने व्यवसाय नेपाल पुनर्बीमा कम्पनीलाई दिएकोमा बिचौलिया दीपक भट्टको योजना अनुसार उनको कम्पनी एलियन्टले पुनर्बीमा व्यवसाय खोसेर हिमालयन रिमा लगिएको थियो।
प्राधिकरणका अनुसार नेपाल रिलाइ हिल्टनकाे रिइन्स्याेरेन्स अस्वीकार गर्न लगाएर एलियन्टले प्रिमियम हिमालयन रिलाइ बुझाएको थियो। तर, भदौ २३ र २४ गतेकाे जेनजी आन्दोलनमा आगजनी हुँदा हिल्टनमा क्षति पुगेका कारण रिइन्स्याेरेन्सकाे दायित्व भुक्तानी गर्नुपर्ने भएपछि यो विषय बाहिरिएको हो। आगजनीका कारण भएको क्षतिबाट सिर्जित दायित्व हिमालयनबाट नेपाल रिमा सार्न खोज्ने एलियन्ट,हिमालयन र ओरिन्टलमाथि प्राधिकरणले छानबिनपछि कारबाही गरेको छ।
आन्दोलनपछि हुलदंगा आतंकवादकाे बीमा व्यवसाय र हिल्टनकाे रिइन्स्याेरेन्सकाे दायित्वको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि अर्थ मन्त्रालयसम्म पुगेको थियो।
‘हिल्टनको पुनर्बीमाको बिजनेस हिमालयन रिइन्स्योरेन्सलाई दिएर जेनजी आन्दोलनमा भएको क्षतिपछि आएको दायित्व सरकारी लगानी रहेको नेपाल रिइन्स्योरेन्सबाट भुक्तानी गराउने प्रयास भएको थियो,’ अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘रिइन्स्योरेन्स बापतको बिजनेस हिमालयन रिलाई दिने तर त्यसको दायित्व नेपाल रिलाई बोकाउन खोजिएको प्रतिवेदन हामीकहाँ आएको थियो। त्यसपछि हामीले कारबाही गर्न भनेका थियौं।’











