पश्चिमी कार कम्पनीहरु चिनियाँ बजार ताक्दै, फोर्डले चीनमै विद्युतीय एसयूभीको उत्पादन थाल्यो



बिजमाण्डू
२०७७ माघ १६ गते १०:१२ | Jan 29, 2021

Tata
GBIME
Nepal Life

फोर्डले आफ्नो चर्चित मस्ट्याङ कार पहिलोपटक चीनमा पनि उत्पादन गर्न लागेको छ।

अमेरिकी कार निर्माता कम्पनी फोर्डले आफ्नो मस्ट्याङ माक-ई को उत्पादन पहिलोपटक चीनस्थित आफ्नै फ्याक्ट्रीबाट थालेको हो।

चीनमा विद्युतीय सवारीको माग बढ्दै गएपछि आफ्नो बजार बिस्तार गर्नका लागि विद्युतीय सवारी साधनको उत्पादन थालेको फोर्डले जनाएको छ।

जनवरीदेखि नै टेस्लाले आफ्नो मोडल वाइलाई चिनियाँ बजारमा लगे लगत्तै फोर्डले पनि मस्ट्याङको विद्युतीय भर्सन चिनियाँ बजारमा उतार्ने तयारी गरेको हो।

सांघाईस्थित फ्याक्ट्रीबाट टेस्लाले आफ्नो विद्युतीय गाडीहरुको उत्पादन गर्दै आएको छ।

पश्चिमी कार निर्माता कम्पनीहरुले आक्रामक रूपमा चीनलाई विद्युतीय सवारीको लागि लक्षित बजारका रूपमा लिइरहेका छन्, जहाँ विद्युतीय सवारीहरुको माग पनि निकै तीव्र रूपमा वृद्धि भइरहेको छ।

फक्सवागनले पनि चाँडै नै आफ्नो चिनियाँ फ्याक्ट्रीबाट विद्युतीय सवारी बजारमा पठाउने बताइसकेको छ।

चीन विश्वकै ठूलो कार बजार हो, जहाँ हरेक वर्ष २ करोडभन्दा बढी कार बिक्री हुन्छ।

जर्मनीको डेमलरले पनि सन् २०२० मा आफ्नो कम्पनीको प्रदर्शन राम्रो भएको बताउँदै चिनियाँ बजारमा बलियो सुधारका कारण विश्व कार बजारको अवस्था सुध्रिएको बताएको छ।

डेमलरका प्रमुख ओला कालेनुसले कम्पनीको रिबाउन्डका लागि चीनकै हात रहेको भन्दै विश्व कार बजारलाई चीनकै कारण बलियो हुन मद्दत पुगेको बताए।

फोर्डले पनि चीनको आर्थिक सुधारको लाभ लिन चाहिरहेको छ। त्यसकारण उसले चिनियाँ बजारमा नयाँ विद्युतीय एसयुभी मस्ट्याङको इलेक्ट्रिक भर्सन लैजान लागेको हो। उसले चीनमै उत्पादन थालेर यसलाई चिनियाँ उपभोक्तासँग कनेक्ट गरेर बजारमा आफ्नो बिक्री बढाउन चाहेको देखिन्छ।

निर्यात महंगो हुने भएकाले त्यही उत्पादन गरी चिनियाँ बजार केन्द्रित हुने लक्ष्य फोर्डले राखेको हो।

गत वर्षको मार्चमा फोर्डले आफ्नो पहिलो मेड इन चाइना लिंक्लोन गाडी बजारमा लगेको थियो। तर उक्त ब्राण्ड बजारमा अन्य प्रिमियम प्रतिस्पर्धीभन्दा कमजोर देखियो।

त्यसअघि सन् २०१९ मा फोर्डले फोर्ड चाइना २.० रणनीति सार्वजनिक गरेको थियो, जसले चिनियाँ रुचि अनुसारको धेरै उत्पादनहरु बजारमा ल्याउने प्रतिबद्धता जनाएको थियो।

यस्तै क्यालिफोर्नियास्थित विद्युतीय कार निर्मता फाराडे फ्युचरलाई चिनियाँ कार निर्माता कम्पनी जिली तथा सरकारी स्वामित्वका कम्पनीहरुले ठूलो लगानी गरेका छन्।

फाराडे फ्युचर असफल चिनियाँ बिजनेस टाइकुन जिया यूटिङले स्थापना गरेका हुन्।  

कम्पनीको नाम बेलायती वैज्ञानिक माइकल फाराडेको नामबाट राखिएको हो, जसले इलेक्ट्रो-म्याग्नेटिज्म पत्ता लगाएका थिए।

चीन अमेरिका र यूरोपका झण्डै ३० वटा संस्थागत लगानीकर्ताले फाराडे फ्युचरमा १ अर्ब डलर लगानी गर्दैछन्, जसले आफ्नो सेयरसमेत जारी गर्ने योजना बनाएको छ।

यस भेन्चरले एफएफ ९१ लग्जरी विद्युतीय कार उत्पादनका लागि यति ठूलो लगानी गरेको हुन्। सन् २०१७ मै बनाइएको उक्त मोडलको कार संस्थापक जिया यूटिङ टाट पल्टिएसँगै उत्पादन हुन सकेको थिएन।

यूटिङले सन् २०१९ मा टाट उल्टिएको घोषणा गर्न निवेदन दिएका थिए। त्यसपछि उनी कम्पनीको सीइओबाट समेत बाहिरिए। अब भने ठूलो लगानीबाट कम्पनीले राम्रो माइलेज लिने विश्वास गरिएको छ। कम्पनीलाई दोस्रो टेस्लाका रुपमा पनि हेरिएको विश्लेषकहरुको भनाइ छ।