काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा गरेको परीक्षणमा खानेपानी, डेरी तथा मसलाजन्य पदार्थ सबैभन्दा बढी न्यून गुणस्तरका भेटिएका छन्।
बजार अनुगमन र निरीक्षण नियमित भइरहे पनि कमसल खाद्य पदार्थको उत्पादन तथा बिक्री वितरण भने घट्न सकेको छैन। विभागका अनुसार उपभोक्ताले दैनिक प्रयोग गर्ने खाद्यान्न तथा दलहन, प्रशोधित पानी, तेल तथा घ्यूजन्य, मसला र दुग्धजन्य पदार्थमध्ये उल्लेख्य हिस्सा मापदण्डविपरीत पाइएका छन्।
दोस्रो त्रैमास अवधिमा मात्र विभागले बजारबाट १ हजार ५ सय ५२ नमुना संकलन गरेको थियो। तीमध्ये २६ नमुना गुणस्तर मापदण्ड विपरीत भेटिएपछि सम्बन्धित उत्पादक तथा विक्रेताविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ।
त्यस्तै, ६ महिनाको अवधिमा खाद्य तथा दाना उद्योग, होटल–रेष्टुरेन्ट र राजमार्गका होटलहरूमा ५ हजार ९ सय ६ पटक निरीक्षण गरिएको छ। निरीक्षणका क्रममा कैफियत देखिएका खाद्य पदार्थ फिर्ता गर्न १३ पटक आदेश जारी गरिएको विभागले जनाएको छ।
विभागकी महानिर्देशक मतिना जोशीका अनुसार आगामी दिनमा खानेपानी र दुग्धजन्य पदार्थको निरीक्षणमा विशेष ध्यान दिइनेछ।
‘यी दुवै क्षेत्रमा आएका उजुरी र अनुगमनमा देखिएका कैफियतका कारण जनस्वास्थ्यको सवालमा विभाग गम्भीर छ,’ उनले भनिन्।
पछिल्लो समय बजारमा ‘ट्रान्स फ्याट’को मात्रा बढी भेटिएपछि विभागले विशेष निगरानी बढाएको थियो। परीक्षणमा कैफियत पाइएका उत्पादकलाई त्यस्ता वस्तु बजारबाट फिर्ता लिन निर्देशन दिइएको छ।
‘अब अन्य खाद्य पदार्थको अनुगमन पनि थप कडाइका साथ अगाडि बढाइन्छ,’ जोशीले भनिन्, ‘मापदण्डविपरीत उत्पादन तथा बिक्री गर्ने उद्योग र व्यवसायीलाई कानुन बमोजिम कारबाही हुन्छ।’
६२ मुद्दा दर्ता
आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा न्यून गुणस्तर, दूषित उत्पादन तथा अवैध बिक्री वितरणका आरोपमा ६२ मुद्दा दर्ता गरिएको विभागले जनाएको छ। ती मुद्दा जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतहरूमा दायर गरिएका छन्।
दर्ता भएका मुद्दामध्ये तेल तथा घ्यूजन्य पदार्थका १३, दुग्धजन्यका ६, फलफूल तथा सागपातजन्यका ४, प्रशोधित खाद्यान्न तथा दलहनका ९, मसलाका २, नुनका १, चिया/कफीका २, प्रशोधित पिउने पानीका ५ र गुलियो पदार्थका २० मुद्दा छन्।
तीमध्ये ३४ मुद्दा न्यून गुणस्तरसम्बन्धी, २० दूषित खाद्य पदार्थसम्बन्धी, ४ लेबलसम्बन्धी र ४ ऐनविपरीत कार्यसम्बन्धी रहेका छन्।
२९ लाख रुपैयाँ बराबरका खाद्य पदार्थ नष्ट
चाडपर्व लक्षित तथा नियमित अनुगमनका क्रममा उपभोग्य मिति समाप्त भएका, अनुमति पत्र नलिएका, पूरा लेबल नभएका तथा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत पाइएका खाद्य पदार्थ जफत गरी नष्ट गरिएको छ।
विभागका अनुसार करिब २९ लाख ४ हजार १५२ रुपैयाँ बराबरका पेय पदार्थ, मिठाइ, खाद्य तेल, मसला, चिप्स, चकलेट, कटन क्यान्डी, खाद्यान्न, मासुजन्य पदार्थ, जारको पिउने पानी तथा कृत्रिम रंग नष्ट गरिएको छ।











