सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६४८.९० विन्दुमा, कारोबार ४ अर्ब ४५ करोडको



बिजमाण्डू
२०८२ फागुन १३ गते १५:३९ | Feb 25, 2026
सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६४८.९० विन्दुमा, कारोबार ४ अर्ब ४५ करोडको

काठमाडौं। मुलुक चुनावमय भएका बेला साताको मध्यमा आएर सेयर बजार सुधारतर्फ लम्किएको छ। साताको चौथो दिन सेयर बजार सूचकसँगै कारोबार बढेको छ। बुधबार नेप्से १०.३० अंकले बढ्दै २६४८.९० को विन्दुमा रह्यो। बजारले अघिल्लो दिनको बढोत्तरीको लयलाई पछ्याएको छ।

Tata
GBIME
Nepal Life

फाइनान्स, म्युचुअल फण्ड र व्यापार बाहेक सबै उपसमूह बढ्दा सूचकसँगै कारोबार रकममा सुधार भएको हो।  जीवन बीमा उपसमूहको सर्वाधिक १.७९ प्रतिशतले बढेको छ।

१५७ कम्पनीको शेयर मूल्य बढ्दा हालै आइपीओ ल्याएर दोस्रो बजार कारोबार सुरु भएका सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयरमा पोजेटिभ सर्किट लागेको छ। सालपा प्रति कित्ता ५३१ रुपैयाँ ४० पैसा र रिलायन्स ५१९ रुपैयाँ ४० पैसा पुगेको छ। यस्तै वीन नेपाल लघुवित्त ९.६६ र सुपर माई हाइड्रोपावरको सेयर मूल्य ९.१८ प्रतिशतले बढेको छ।

बजारमा ९० कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको स्थिर रह्यो। घटेका कम्पनीमध्ये ५.९८ प्रतिशतले गिरावट आएको हिमालयन पावर पार्टनरका लगानीकर्ता बढी नोक्सानमा रहे।

४ अर्ब ४५ करोड ११ लाख रुपैयाँको कारोबार भएको बजारमा बढी कारोबार हुने कम्पनीको सूचीमा पहिलो नम्बरमा आँखुखोला जलविद्युत रह्यो। उक्त कम्पनीको २८ करोड ६९ लाखको सेयर किनबेच भएको छ।

यस्तै ङादी ग्रुप पावरको २५ करोड ४७ लाख, एसवाई प्यानलको २३ करोड ४७ लाख, रिडी पावरको १४ करोड ८० लाख र बन्दीपुर केबलकारको १० करोड ४२ लाखको सेयर कारोबार भएको छ। यसअघि मंगलबार नेप्से परिसूचक २१.६२ अंक बढेर २६३८.६० विन्दुमा पुग्दा ४ अर्ब २३ करोड २४ लाख रुपैयाँको कारोबार भएको थियो।