
वीरगंज। वीरगंज भन्सार मातहतको एकीकृत जाँच चौकी (आइसिपी) भित्र नयाँ पूर्वाधारहरु निर्माण भएका छन्। नेपाल इन्टरमोडेल यातायात समितिले १० करोडको पार्किङ र ४ करोडको आयाततर्फ मालसामान भण्डारण गर्ने गोदामको निर्माण गरेको छ।
नेपाल इन्टरमोडेल यातायात विकास समिति (एनआइटिबी) आइसिपी वीरगंजका प्रमुख कमल ज्ञवालीका अनुसार पछिल्लो एक वर्षभित्र थोकर कन्स्ट्रक्सन काठमाडौंले दुवै काम गरेको बताए। २ सय ५० देखि ३ सय गाडी अट्ने पार्किङ निर्माण भएपछि आइसिपीको सडकमा पार्क गर्नुपर्ने समस्या समाधान भएको हो।
यसअघि सवारीसाधनको लागि पार्किङ स्थल नहुँदा भारतबाट भित्रिने गाडीहरु आइसिपी नजिकको सडकमा लामबद्ध भएर रोक्नुपर्ने समस्या थियो।
नेपालमा आयातको दर र मालसामानको सङ्ख्यामा वृद्धि भएपछि आयाततर्फ १ हजार वर्गमिटर क्षेत्रफलको मालसामान भण्डारण गर्ने गोदाम पनि सञ्चालनमा आएको छ। यसअघि आयात र निर्याततर्फ १३६४ वर्गमिटरको दुईवटा मात्र गोदाम थियो भने पार्किङ स्थल थिएन। वीरगंजको आइसिपी नाका हुँदै अहिले दैनिक करीब ७ सयको हाराहारीमा गाडीहरु भारत तथा विदेशको मालवस्तु बोकेर प्रवेश गर्छन्।










