हुस्सुले उडान प्रभावित हुँदा नेपाली आकाश खाली, हिमालय एयरलाइन्सको जहाज बिहानै ओर्लियो



रासस
२०७७ मंसिर २६ गते ०९:५७ | Dec 11, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं।  काठमाडौँ उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ। हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तराष्ट्रिय दुवै उडान प्रभावित भएको छ। मुलुकका अन्य पहाडी र दुर्गम तथा तराई भेगको उडान पनि प्रभावित भएको छ।    
    
बिहान सबेरैदेखि बाक्लो हुस्सुले भिजिबिलिटी (दृश्य क्षमता) कम भएका कारण अन्तर्राष्ट्रिय विमानस्थलको सबै उडान प्रभावित भएको विमानस्थलका निमित्त महाप्रबन्धक देवचन्द्रलाल कर्णले जानकारी दिए। कर्णका अनुसार आज बिहान चीनको कुनमिङबाट आएको हिमालय एयरलाइन्सको जहाजमात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ। बिहान करिब ६:३० बजे उक्त जहाज अवतरण गरे पनि लगत्तै बाक्लो हुस्सु लागेपछि विमानस्थलमा कुनै पनि जहाजको उडान अवतरण भएको छैन।    
    
हुस्सु खुलेपछि अर्थात बिहान १० बजेपछि मात्र उडान सामान्य हुने निमित्त महाप्रबन्धक कर्णले बताए। “बिहान एक मात्र अन्तर्राष्ट्रिय उडानको जहाज अवतरण भयो। अहिले बाक्लो हुस्सुले भिजिबिलिटी १०० मिटर मात्रै छ, बिहान १० बजेपछि मात्र उडान सामान्य हुनेजस्तो देखिन्छ', उनले भने।    
    
अन्तर्राष्ट्रिय उडानका जहाजलाई अवतरण गर्न एक हजार ५०० मिटर भिजिबिलिटी चाहिन्छ। त्यस्तै आन्तरिक उडानका जहाजको प्रकृति अनुरुप फरक–फरक भिजिबिलिटी हुनुपर्छ। आइएफआर जहाजलाई उडानका लागि डेढ किलोमिटर भिजिबिलिटी चाहिन्छ। ती जहाजलाई अवतरणका लागि तीन किलोमिटर भिजिबिलिटी चाहिन्छ।