
काठमाडौं। ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न 'कर्पोरेट पे' प्रणालीको सुरुवात गरेको छ।
यो प्रणाली सुरु गर्न बैंकले नेपाल क्लियरिङ हाउससँग सम्झौता गरेको छ। सम्झौतापत्रमा बैंककी वित्तीय स्रोत व्यवस्थापन विभाग प्रमुख शान्ता शिवाकोटी र क्लिरिङ कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे।
बैंकले आफ्ना व्यवसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याट्फर्म मार्फत ग्राहकहरुले बैंकमा नगई फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु सजिलै गर्न सकिने सुविधा रहेको जनाएको छ। सो प्रणालीमार्फत कनेक्ट आइपीएस वा एनसीएचएल-आइपीएसमा रियल टाइम वा नन रियल टाइम भुक्तानी गर्न सकिने बैंकले जनाएको छ।
यो प्रणालीमा पहुँच बनाउन मल्टी लेयर अथेन्टिकेसनको सुरक्षा व्यवस्था गरिएको कम्पनीको दाबी छ। ग्राहकले आफ्नो आवश्यकता अनुसार एक भन्दा बढी बैंक खाताहरु लिंक गरेर कारोबार गर्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ। यो प्रणालीपछि भौतिक रुपमा बैंकमा नपुगी अनलाइनमार्फत भुक्तानी गर्न सकिन्छ।











