पुतलीसडक कालोपत्रे गर्ने तयारी, आयोजना प्रमुख भन्छन् ‘असोज दोस्रो सातासम्म सडक तयार पार्छौ’ 



बिजमाण्डू
२०७७ भदौ २७ गते १३:५९ | Sep 12, 2020
पुतलीसडक कालोपत्रे गर्ने तयारी, आयोजना प्रमुख भन्छन् ‘असोज दोस्रो सातासम्म सडक तयार पार्छौ’ 

Tata
GBIME
Nepal Life

काठमाडौं। वर्षौदेखि सरकारी निकायका बीचमा समन्वय नहुँदा अलपत्र जस्तै बनेको राजधानीको पुतलीसडक अब बल्ल कालोपत्रे हुने भएको छ। 

डिभिजन सडक कार्यालय काठमाडौंले कालोपत्रे गर्न लागेको हो। डिभिजन प्रमुख इन्जिनियर कुबेर नेपालीले कालोपत्रे गर्नुअघिको बेस कोर्स करेक्सन गरिएको बताए। उनका अनुसार गत जेठमै कालोपत्रे गर्ने तयारी भएको थियो। निर्माण सामाग्री अभाव र अन्य विभिन्न प्राविधिक समस्या आएका कारण काम हुन सकेन।  

आयोजनाले कालोपत्रे गर्न बेस कोर्स राखेको थियो। त्यही बेस कोर्समा सवारीसाधन हिड्दा र बर्खाको पानीले पुर्‍याएको क्षतिको यतिबेला करेक्सन गरिएको हो। इन्जिनियर नेपालीले असोज दोस्रो सातासम्म सडक तयार हुने दाबी गरे। 'गत साता नै कालोपत्रे  गर्ने तयारी थियो। पानी परेका कारण पेभमेन्ट चिसो भएको छ,' उनले भने, 'अब एक साता सुकेपछि मात्रै कालोपत्रे गर्न मिल्छ।' यो सडक सवारी चाप धेरै रहने व्यस्त क्षेत्र हो। 

त्यसकारण दुई तहको कालोपत्रे गर्ने गरि डिजाइन गरिएको उनले बताए। 'पहिलो तहको कालोपत्रे हुनेछ। जसलाइ डिबिएम भनिन्छ। त्यसमाथि फाइनल तहको कालोपत्रे हुनेछ। अहिले तयार पारिएको बेस कोर्षमाथि डिबिएम र त्यसमाथि फाइनल कालोपत्रे हुनेछ,' उनले भने।

ढल मर्मत नगरिएका कारण बर्सेनि वर्षायाम शुरु भएसँगै जलमग्न बन्ने पुतलीसडक यो वर्ष भने पानीमा डुबेन। सडक विभागले पटक पटक आग्रह गर्दा पनि खानेपानी तथा ढल निकास विभागले मर्मत नगरिदिएपछि आफैंले ठेक्का लगाएर मर्मत गरेको हो। पुतलीसडकमा अहिले ह्युम पाइप राख्ने, फिलिङ गर्ने, फुटपाथ मर्मत र कालोपत्रेको एउटै ठेक्का लगाएर भइरहेको हो।

ढल मर्मत भइसकेको छ। फुटपाथ पनि चिटिक्क बनेको नेपालीले बताए। करिब आठ करोड रुपैयाँ खर्चेर यो सडक सुधार गर्न लागिएको हो । निर्माणको जिम्मा पीआर कन्स्ट्रक्सनले पाएको छ।