काठमाडौं। कर्णाली याक्सले विराटनगर किंग्स सामू १६१ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा टस जितेर ब्याटिङमा उत्रिएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६० रन बनाएको हो।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा कर्णालीले ओपनर मार्क वाटलाई २.५ ओभरमै गुमाएको थियो। एनपीएलको जारी संस्करणमा शतक बनाएका एकमात्र ब्याटर वाट विराटनगरविरुद्ध भने ६ रन बनाएर मर्चेन्ट डी ल्याङ्गको बलमा जर्ज मुन्सेबाट क्याचआउट भए।
दोस्रो विकेटका लागि भने प्रियांक पाञ्चाल र विल बोसिस्टोले ७९ बलमा ९४ बलको साझेदारी गरे। ४७ बलमा ६ चौका र २ छक्का प्रहार गरेका उनी ६३ रन बनाएर रन आउट भए। अर्का ब्याटर विल बोसिस्टो भने ४८ रन बनाएर अविजित रहे।

त्यस्तै, गुल्सन झाले १० बलमा २० रन बनाउँदा नजिबुल्ला जार्दन १२ रनमा अविजित रहे।
बलिङतर्फ मर्चेन्ट डी ल्याङ्ग र सन्दीप लामिछानेले समान १ विकेट लिए।
विराटनगर जवाफी ब्याटिङमा उत्रिएको छ।










