काठमाडौं। भारतीय दुई पाङ्ग्रे कम्पनी बजाज अटोले अस्ट्रियन ब्रान्ड केटीएम बाइकको कम्पनी खरिद गरेको छ। बजाजको विदेशी सहायक कम्पनीमार्फत यो खरिद सम्झौता भएको हो। बजार अटो इन्टरनेशनल होल्डिङ्स एजीले यसै हप्ता उक्त कम्पनी खरिद गरेको हो।
मेजोरिटी सेयरको यो रणनीतिक खरिद गत मंगलबार भएको हो। सम्झौतासँगै कम्पनीको नाम परिवर्तनको तयारी छ। बजाजको सहायक कम्पनीले पियरर इन्डस्ट्री एजीबाट सबै सेयरहरू खरिद गर्यो। जसले बजाज पियरर बजाज एजीको मालिक बनेको छ।
पछिल्लो केही वर्षदेखि केटीएम बैंक्रप्सीमा परेपछि बजारमा टिक्न निकै संघर्षरत थियो। यसमा बजाज अटोले ८० करोड युरो लगानी गरेको थियो।
कम्पनीले पियरर बजाज एजीको ५० हजार १०० कित्ता सेयर खरिद गरिसकेको छ। जसले गर्दा पियरर परिवारको स्वामित्व परिवर्तन भएको छ। केटीएम पब्लिकमा गएको कम्पनी हो। केटीएम बिक्रीको अवस्थामा पुग्नुका मुख्य कारणहरू कम्पनीको लगातार कमजोर कारोबार र बढ्दो ऋण दबाब थियो।
प्रिमियम मोटरसाइकल बजारमा प्रतिस्पर्धा कडा बन्दै जाँदा केटीएमको उत्पादन लागत बढ्यो तर बिक्री र आम्दानी अपेक्षाकृत स्थिर थियो। युरोपेली आर्थिक सुस्तीका कारण माग घट्दा कम्पनीको क्यास–फ्लो थप कमजोर भयो। विस्तारका लागि कर्जा लिएर चलाएको रणनीति उल्टो पर्यो र ऋण पुनर्गठन गर्नुपर्ने स्थिति आयो। लगानीमा रहेको ऋणको साँवाब्याज फिर्ता गर्न गाह्रो परेपछि कम्पनी आर्थिक संकटमा पर्यो। यस्तो अवस्थामा दीर्घकालीन स्थिरता कायम गर्न बाह्य लगानी आवश्यक परेपछि बजाजले उद्धार सहितको ठूलो हिस्सेदारी लिएर नियन्त्रण हातमा लिएको हो।
२०२४ को अन्त्यतिर केटीएम पतनको संघारमा पुगेको थियो। त्यसपछि न्यायालयको सहजीकरणमा कम्पनी पुनर्संरचनाको काम थालिएको थियो। लागत घटाउने प्रयासमा लामो समयदेखि रहेका सीईओलाई प्रतिस्थापन गरिएको थियो।
केटीएम (क्रोनरिफ एण्ड ट्रन्केनपोलेज म्याटिगहोफेन)को स्थापना अस्ट्रियाको म्याटिगहोफेन शहरमा भएको हो। यसको मुख्यालय र उत्पादन केन्द्रहरू पनि अस्ट्रियामै छन्। कम्पनी मोटरसाइकल, विशेषगरी अफरोड र प्रिमियम स्पोर्ट बाइकमा अग्रणी युरोपेली ब्रान्ड मानिन्छ। आर्थिक संकटका कारण कम्पनी पुनर्संरचना हुँदै गर्दा बजाजले अधिकतम हिस्सेदारी लिए पनि ब्रान्डको पहिचान र मूल देश अस्ट्रिया नै रहनेछ।
बजाजको वित्तीय लाइफलाइनले केटीएमलाई २०२५ को मध्यसम्ममा पूर्ण उत्पादन पुनः सुरु गर्न सक्षम बनाएको थियो। तर, अवरोधले उत्पादनमा उल्लेखनीय ढिलाइ निम्त्यायो। २०२५ को लागि सुरुमा तय गरिएका नयाँ ९९० सीसी र १३९० सीसी मोडेलहरू २०२६ मा लन्च गर्ने गरी मिति सारिएको थियो।
मे २०२४ मा पहिलो पटक देखाइएको धेरै प्रत्याशित केटीएम ९९० आरसी आर २०२५ को अन्त्यतिर मात्र एसेम्बली सुरु भएको थियो। अब बजाजको लगानीमा केटीएमले आफ्नो ढिला भएको लाइनअप डेलिभर गर्न ध्यान केन्द्रित गर्न सक्ने देखिएको छ।










