
काठमाडौं। गत आर्थिक वर्षको चौथों त्रैमासमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको नाफा बढेको छ।
अघिल्लो आवको सोही अवधिको तुलनामा बैंकको नाफा २६.४० प्रतिशतले बढेको हो ।
अघिल्लो आवको सोही अवधिमा ६७ करोड १ लाख ५९ हजार नाफा गरेको यस बैंकले गत असार मसान्तसम्म ८४ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले हालसम्म कै ठूलो रकम आठ अर्व रुपैयाँ बराबरको आइपिओ निष्कासन गर्ने प्रक्रियामा रहेको छ ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै नाफामा बढ्न पुगेको हो । बैंकको चुक्ता पुँजी असार मसान्तसम्ममा १२ अर्ब रुपैयाँ रहेको छ। असार मसान्तसम्म जगेडा कोषमा १ अर्ब ६३ करोड रुपैयाँ बचत छ।
बैंकले १ अर्ब २३ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ८.४९ प्रतिशत बढी हो। त्यसैगरी, असार मसान्तसम्ममा बैंकको सञ्चालन मुनाफा १ अर्ब १० करोड १६ लाख रुपैयाँ रहेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.६० प्रतिशत बढी हो।
असार मसान्तसम्म बैंकले २५ करोड निक्षेप सङ्कलन गरी ५७ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको वितरण योग्य मुनाफा ८४ करोड ७१ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी ७ रुपैयाँ ६ पैसा कायम भएको छ।











