पहलपछि पश्चिम बंगाल प्रहरीले काँकडभिट्टाबाट निर्यातका गाडी खोल्यो, फर्कने गाडीमा अवरोध



बिजमाण्डू
२०७७ असार १४ गते १३:४९ | Jun 28, 2020


विराटनगर। काँकडभिट्टा नाका हुँदै भारत र समुद्रपारका मुलुकमा निकासी गरिने मालवस्तु बोकेका ढुवानीका साधनहरू जान थालेका छन्।

Tata
GBIME
Nepal Life

यसअघि भारतको पश्चिम बंगाल प्रहरीले चैतको पहिलो सातादेखि काँकडभिट्टा नाकाबाट कुनै पनि ढुवानीका साधन छिर्न दिएको थिएन। तर एक हप्तादेखि निकासीका सामान बोकेर ढुवानीका साधन भारतका विभिन्न स्थान र बंगलादेश जान थालेका हुन्।

काँकडभिट्टास्थित मेची भन्सारका प्रमुख ध्रुव विश्वकर्माले नाकाबाट निकासीका गाडी जान थालेको पुष्टि गरे।

भारततर्फ चिया, अदुवा र अलैँची लोड गरिएका ढुवानीका साधन गइरहेका छन्,’ प्रमुख विश्वकर्माले भने, ‘बंगलादेशतर्फ मसुरो दाल, चिराइतो र अम्लिसोको कुचोका गाडी जान थालेका छन्।’

नेपालबाट बंगलादेशतर्फ निर्यात गर्न काँकडभिट्टा नाकाको प्रयोग अनिवार्य छ। अन्य नाकाबाट बंगलादेश निर्यात हुन सक्ने अनुमति छैन। काँकडभिट्टा नाकाबाट फूलबारी मार्ग हुँदै ५० किलोमिटरको बाटो तय गरेपछि बंगलादेशको सिमाना बंगलाबन्ध आइपुग्छ। नेपालबाट यही मार्ग भएर बंगलादेशतर्फ निकासी गरिन्छ।

पश्चिम बंगाल प्रहरीले मेची भन्सारबाट निकासीका गाडी जान नदिएपछि वाणिज्य मन्त्रालय र कोलकातास्थित महावाणिज्य दूतावासले भारतका विभिन्न निकायमा पहल र पत्राचार गरेका थिए।
प्रमुख विश्वकर्माको भनाइ थियो, ‘दुवै निकायले भारतको परराष्ट्र विभाग, राजदूतावास र पश्चिम बंगाल सरकारलाई बारम्बार अनुरोध गरेका थिए। बारम्बारको पहलपछि निकासी सहज भएको छ।’

तर पश्चिम बंगाल प्रहरीले नेपालमा मालसामान खाली गरेर जाने ढुवानीका साधनलाई भने छिर्न अझै रोक लगाइरहेको छ। यसका कारण काँकडभिट्टा नाकाबाट पैठारी भई आउने मालवस्तुका खाली गाडी र ग्यासका खाली बुलेट विराटनगर–जोगबनी नाकाबाट फर्किरहेका छन्।