काठमाडौं। पार्टीको भ्रातृ संस्था तरुण दलले गरेको चियापान कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापा अनुपस्थित भएका छन्।
तरुण दलले सोमबार पार्टी मुख्यालय सानेपामा राखेको चियापान कार्यक्रममा गगन अनुपस्थित भएका हुन्। महामन्त्री थापाले सोमबार बिहानै फेसबुकमार्फत आफू सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसक्ने बताएका थिए।
‘यो वर्ष दसैं, तिहार र नेपाल संवत्जस्तै छठका सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नसक्ने भएकाले क्षमा चाहन्छु। मलाई निम्तो गर्नु भएका काठमाडौं र मधेशका सबै छठ आयोजक मित्रहरूलाई हार्दिक आभार प्रकट गर्दछु,’ थापाले भनेका छन्।
कार्यक्रममा कार्यबाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मासहित अधिकांश पदाधिकारी उपस्थित थिए।
कार्यवाहक सभापति खड्काले पार्टीको महाधिवेशनबारे केन्द्रीय समितिले निर्णय लिने बताएका छन्। उनले विशेष महाधिवेशनको माग सम्बोधन हुने गरी नियमित महाधिवेशनबारे निर्णय लिने बताएका हुन्।
‘पार्टीमा फरक फरक धारणा आएका छन्। विशेष महाधिवेशनको प्रस्तावलाई पनि नियमित महाधिवेशनको सीमाभित्र जोडेर अघि बढ्छौं,’ उनले भने।
महामन्त्रीद्वय थापा र शर्माले विषम परिस्थितिमा कांग्रेसले विशेष महाधिवेशन गर्नुपर्ने मागसहित हस्ताक्षर अभियान सञ्चालन गरेका थिए। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर तिहारअघि कार्यबाहक सभापति खड्कालाई बुझाइएको थियो।
खड्काले कांग्रेसप्रति भरोसा जगाउने गरी निर्णय आउने बताए। उनले फागुन २१ गतेका लागि तय प्रतिनिधि सभाको निर्वाचनबारे पनि केन्द्रीय समितिले निर्णय लिने बताए। असोज २८ गते सुरु भएको केन्द्रीय समिति बैठक कातिक १३ गतेसम्मका लागि स्थगित गरिएको छ।
कार्यक्रममा तरुण दलका अध्यक्ष विद्वान गुरुङले कांग्रेसविरुद्ध अनेकन आक्रमण सुरु भएकोले आफूहरु चुप लागेर नबस्ने चेतावनी दिए।
‘दुर्गा प्रसाइँले आन्दोलन घोषणा गरेका छन्। केही जेनजीले झोलेका रुपमा हामीलाई ट्रोल बनाउने काम भइरहेको छ,’ गुरुङले भने, ‘हामी चुप लागेर मात्र शान्ति नहुने रहेछ मुलुकमा। यो मुलुकको व्यवस्था जोगाउने हो भने अब हामी सडकमा भिड्ने नै हो।’











