काठमाडौं। विश्वबजारमै लगानीकर्ता धातुमा लगानीतर्फ आकर्षित भइरहँदा पाँच दिनदेखि सुनको मूल्य लगातार उकालो लागेको छ। नेपाली बजारमा बिहीबार सुन बढेर तोलाको २ लाख ३९ हजार २ सय रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघलका अनुसार अघिल्लो दिनको भन्दा बिहीबार सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेको हो। यसअघि मंगलबारका तुलनामा २ हजार ६ सय रुपैयाँ बढेर बढ्दा बुधबार प्रति तोला २ लाख ३८ हजार रुपैयाँ भएको थियो।
बिहीबार चाँदी पनि बढेर प्रति तोला ३ हजार २५ रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्यमा पुगेको अवस्था हो। अघिल्लो दिनका तुलनामा तोलामा ७५ रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको महासंघले जनाएको छ।
मंगलबारका तुलनामा ५ रुपैयाँ घट्दा बुधबार चाँदी तोलाको २ हजार ९ सय ५५ रुपैयाँ भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बिहीबार प्रति औंस ४०३७.७९ डलर पुगेको छ। चाँदी प्रतिऔंस ४९ डलर भएको छ। बुधबार सुन प्रति औंस ४०२८.९५ डलर र चाँदी प्रति औंस ४८.७६ डलर थियो।
बजार विश्लेषकका अनुसार अमेरिकी सरकारको आंशिक बन्द र आर्थिक अनिश्चितताका कारण लगानीकर्ताहरू सुरक्षित सम्पत्तितर्फ आकर्षित भएका हुन्।
अर्थतन्त्र सुस्तिने संकेतसँगै केन्द्रीय बैंकहरूले ब्याजदर घटाउने अपेक्षाले पनि सुनचाँदीको माग बढाएको विश्लेषण गरिएको छ। अमेरिकी डलर कमजोर हुँदा सुन र चाँदीजस्ता धातुको मूल्य अझै बढ्ने देखिएको छ। साथै, मध्यपूर्व र पूर्वी युरोपमा जारी राजनीतिक तनावले पनि लगानीकर्ताहरूलाई सुनतर्फ आकर्षित गरेको छ।
तर विश्लेषकहरूका अनुसार यो वृद्धिलाई दीर्घकालीन ठान्न सकिँदैन। अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले आगामी महिनामा मुद्रास्फीति नियन्त्रणका लागि ब्याजदर स्थिर राख्ने वा पुनः कडाइ गर्ने संकेत गरे सुनको मूल्यमा सुधार आउन सक्छ। यदि अमेरिकी सरकारको बन्द छिट्टै अन्त्य भयो र बजारमा स्थिरता फर्कियो भने सुन र चाँदी दुवैको मूल्यमा क्रमशः घट्ने सम्भावना रहेको बजार विशेषज्ञहरूको आकलन छ।










