कुवेतमाथि प्रभावशाली जित निकाल्दै विश्वकप छनोटमा नेपालको सुखद सुरुवात



बिजमाण्डू
२०८२ असोज २३ गते ००:०० | Oct 9, 2025
कुवेतमाथि प्रभावशाली जित निकाल्दै विश्वकप छनोटमा नेपालको सुखद सुरुवात
नेपाली क्रिकेट टोलीको सेलिब्रेसन। तस्बिर: क्यान

काठमाडौं। नेपाली क्रिकेट टोलीले कुवेतमाथि प्रभावशाली जित निकालेको छ। आईसीसी टी-२० विश्वकप एसिया इएपी छनोट अन्तर्गत आज सम्पन्न समूह ‘बी’को खेलमा नेपालले कुवेतलाई ५८ रनले हराउँदै सुखद सुरुवात गरेको हो।

Tata
GBIME
Nepal Life

ओमनस्थित अल अमेरत स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कुवेत १८.१ ओभरमा ८३ रनमा अलआउट हुन पुग्यो। कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक २६ रन बनाउँदा याशिन पटेलले १९ तथा मीत भावसरले ११ रन बनाए। बलिङतर्फ नेपालका ललित राजवंशी, सन्दीप लामिछाने र रोहित पौडेलले समान २ विकेट लिँदा सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले समान १ विकेट लिए।

टसका दौरान नेपाल र कुवेतका कप्तान। तस्बिर: क्यान

त्यसअघि ओमनको अल अमरेत स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको नेपालको शीर्ष क्रम र मध्य क्रमको ब्याटिङ सुस्त रह्यो। २.३ ओभरमा २ रन बनाएका ओपनर आशिफ शेख एलबीडब्लु आउट भएसँगै नेपालको विकेट पतन सुरु भएको थियो। त्यसपछि आएका कप्तान रोहितकुमार पौडेल १५ बलमा १६ रन बनाउँदा बोल्ड आउट हुन पुगे। त्यस्तै कुशल मल्ल ४ र सन्दीप जोरा ५ रन बनाएर आउट हुँदा ११.४ ओभरमा नेपाल ६३-४ को कमजोर अवस्थामा पुगिसकेको थियो।

१७.३ ओभरमा दीपेन्द्रसिंह ऐरी २० रन बनाएर आउट हुँदा नेपाल १०४-५ को अवस्थामा थियो। त्यसपछि आएका गुल्सन झाले भने बिस्फोटक ब्याटिङ गर्दै नेपालको स्कोर उकासे। उनले ६ बलमा ३ छक्का प्रहार गर्दै २० रन बनाउन सफल भए।

नेपालको इनिङ्स माथि लैजान सबैभन्दा महत्वपूर्ण भूमिका कुशल भुर्तेलको अर्धशतकको रह्यो। उनले ५६ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै ६६ रन बनाए।

ब्याटिङमा गुल्सन झा। तस्बिर: क्यान

बलिङतर्फ कुवेतका नवीनराज राजेन्द्रन र अनुदीप छेन्थामाराले समान २ विकेट लिँदा मोहम्मद फारुक र मोहम्मद अस्लमले समान १ विकेट लिए।

खेलपछि पोस्ट म्याच प्रेजेन्टेसनमा बोल्दै नेपाली टोलीका कप्तान रोहित पौडेलले समर्थकको उपस्थितिले उत्साहीत बनाएको बताए। विकेट ट्रिकी रहेको भन्दै १५० देखि ६० सम्मको स्कोर बनाउन चाहेको बताए। ‘उनीहरुले राम्रो बलिङ गरे। गुल्सनको ब्याटिङले स्कोर उकास्यो। कुशलको ब्याटिङ उत्कृष्ट रह्यो।’ पौडेलले फिल्डिङमा राम्रो भएको भन्दै दीपेन्द्रसिंह ऐरीले गरेको रनआउट खेलको ट्रनिङ प्वाइन्ट भएको बताए।

कुशल भुर्तेल खेलको प्लेयर अफदी म्याच बने। ‘सुपर सिक्समा पुग्न जित महत्वपूर्ण थियो। त्यो हामीले हात पार्‍यौँ। सुरुवातमा रन आएको थिएन। गुल्सनको ब्याटिङले बुस्ट मिल्यो।’ उनले भने।

नेपालले आगामी खेलमा शुक्रबार जापानविरुद्ध खेल्नेछ।