ग्लोबल आइएमई बैंकले ल्यायो ‘गोल बेस्ड सेभिङ’ योजना, ग्राहकका लागि यस्ता छन् अफर



बिजमाण्डू
२०८२ असोज १० गते १५:०१ | Sep 26, 2025
ग्लोबल आइएमई बैंकले ल्यायो ‘गोल बेस्ड सेभिङ’ योजना, ग्राहकका लागि यस्ता छन् अफर

काठमाडौं। ग्लोबल आइएमई बैंकले लक्ष्य अनुसार रकम बचत गर्न सक्ने ‘गोल बेस्ड सेभिङ’ योजना सार्वजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले ग्राहकले न्यूनतम् ५० हजार रुपैयाँदेखि अधिकतम् ५ लाख रुपैयाँसम्मको लक्ष्य रकम बचत गर्न सक्ने गरी योजना ल्याएको हो। यस योजनामा बचतको अवधि न्यूनतम् ६ महिनादेखि अधिकतम् २ वर्षसम्म हुन्छ।

ग्राहकले आफ्नो निर्धारित लक्ष्य प्राप्त गर्न मासिक कति पैसा बचत गर्नुपर्ने हो, कति ब्याजजदर प्राप्त गर्ने हो र लक्ष्य कति समयमा पूरा हुन्छ भन्ने जानकारी मोबाइलबाटै प्राप्त गर्न सक्नेछन्।

बैंकका अनुसार यस योजनामा मोबाइल बैंकिङ प्रयोगकर्ताले विभिन्न शीर्षकमा समेत बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाको वित्तीय व्यवस्थापन गर्न सक्नेछन्।

मासिक आवश्यक रकम सिधै प्राथमिक बचत खाताबाट राख्ने वा आफैंले तोकिएको मितिमा मासिक आवश्यक रकम राख्ने भन्ने विकल्प पनि हुन्छ। साथै ग्राहकले आफूले इच्छाएको रकम समेत ‘गोल बेस्ड सेभिङ’मा टप अप गर्न सक्नेछन्।

यो योजनामा राउण्डअप सेभिङको सुविधा पनि छ। राउण्डअप सेभिङ अन्तर्गत ग्राहकले हरेक मर्चेन्ट क्यूआर भुक्तानी गर्दा कति पैसा निर्धारित लक्ष्य योजनामा बचत गर्ने भन्ने सुविधा पाउनेछन्।

राउण्डअप सेभिङमा नियरेस्ट टु, फ्ल्याट र प्रतिशत गरी तीन फरक विकल्प छन्। राउण्डअप सुविधा ग्राहकले आफ्नो आवश्यकता अनुरुप सक्रिय तथा निस्किृय गर्न सक्ने बैंकले जनाएको छ।

विकल्प पनि आवश्यकता अनुरुप परिवर्तन गर्न सकिनेछ। नियरेस्ट टु छनोट गर्दा कतिको नजिकको रकम छनोट गर्ने भनेर उल्लेख गर्नुपर्ने हुन्छ। उदाहरणका लागि २२४ रुपैयाँ मर्चेन्ट क्यूआरमा भुक्तानी गर्दा २५ मा सेट गरिएको छ भने १ रुपैयाँ निर्धारित लक्ष्य योजनामा बचत हुन्छ र ३० मा सेट गरिएको छ भने ६ रुपैयाँ निर्धारित लक्ष्य योजनामा बचत हुन्छ।

फ्ल्याट रकम विकल्पमा छनोट गर्दा हरेक कारोबारमा कति रकम निर्धारित लक्ष्य योजनामा बचत गर्ने भन्ने हुन्छ। जस्तै १०० रुपैयाँ फ्ल्याट रकम विकल्पमा छनोट गरिएको छ भने हरेक मर्चेन्ट क्यूआरमा भुक्तानी गर्दा १०० रुपैयाँ निर्धारित लक्ष्य योजना बचत हुनेछ।

यस योजनामा सम्पूर्ण प्रक्रिया ग्राहकले मोबाइल बैंकिङबाट संचालन गर्न सक्नेछन्।