काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत तोरुले जापानका तर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
भेटमा जापानले नेपाललाई पुर्याउँदै आएको द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय तथा प्राविधिक सहायता, हाल संचालित आयोजनाको कार्यान्वयन अवस्था लगायतका विषयमा छलफल भएको थियो।
सो क्रममा जापानको सहयोगमा निर्माणाधीन नागढुंगा सुरुङका लागि आवश्यक थप सहायता, विपी राजमार्ग पुनर्निर्माण, १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाका लागि आवश्यक थप सहायता, कोटेश्वर चोक सुधार, विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि संचालित आयोजनाको प्रगति लगायतका विषयमा छलफल भएको छ।
नेपालको विकास प्राथमिकता प्राप्त क्षेत्रमा जापानको सहायताको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै मन्त्री घिसिङले विद्युत् क्षेत्रमा रणनीतिक महत्त्वका ६७० मेगावाटको दूधकोशी, १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना, पूर्वाधार आयोजनाको तयारी, काठमाडौं उपत्यकाको एक सय वर्षको सहरी व्यवस्थापनका लागि एकिकृत गुरुयोजना तयारी लगायतका सम्भावित क्षेत्रमा सहायता उपलब्ध गराउन आग्रह गरे।
भेटमा राजदूत तोरुले नेपालका रणनीतिक महत्त्वका ठूला आयोजनामा सहायता उपलब्ध गराउन जापान तयार रहेको उल्लेख गरे।











