कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका युवकलाई फेरि अस्पताल ल्याइयो



बिजमाण्डू
२०७७ बैशाख २१ गते ०९:१६ | May 3, 2020

Tata
GBIME
Nepal Life

वीरगंज। कोरोना भाइरसबाट संक्रमित भएर डिस्चार्ज भएका रौतहटका १९ वर्षीय युवकलाई फेरि अस्पताल भर्ना गरिएको छ।

कोरोना भाइरसबाट संक्रमित भइ वीरगंजस्थित नारायणी अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएर उपचाररत् उनलाई केही दिन अघि मात्रै डिस्चार्ज गरिएको थियो। लगातार कोभिड १९ को रिपोर्ट नेगेटिभ देखिएपछि उनीसहित ४ जनालाई डिस्चार्ज गरिएको थियो।

वैशाख १३ गते राति टेकु प्रयोगशालाको रिपोर्टको आधारमा ३ भारतीय नागरिकसहित रौतहटका युवकलाई पुष्पगु्च्छासहित वैशाख १४ गते नारायणी अस्पतालबाट परिवारजनसहित डिस्चार्ज गरी घर पठाइएको थियो।

तर, हाल युवकलाई नेपाली सेनाको टोलीले रौतहटबाट पुन: वीरगंजस्थित नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरेको छ।

नारायणी अस्पताल स्रोतका अनुसार डिस्चार्ज गरिएका ती युवकको रिपोर्ट संदेहपूर्ण भएकाले पुन: अस्पताल नै भर्ना गरिएको हो।

चैतको दोस्रो साता भारतबाट आएर ईशनाथ नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएको युवकमा वैशाख १ गते कोभिड १९ पोजेटिभ देखिएको थियो। डिस्चार्ज भएपछि वैशाख १६ गते उनीसहित घर परिवारको १३ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि पठाइएकोमा शनिवार दिउँसो १३ जना मध्ये ती युवकको रिपोर्ट संदेहपूर्ण देखिएको हो।