नेतृत्व फेर्न विशेष महाधिवेशनको कसरत, कांग्रेस प्रतिनिधिले थाले हस्ताक्षर अभियान



नेत्र तामाङ
२०८२ असोज ६ गते २१:३० | Sep 22, 2025
नेतृत्व फेर्न विशेष महाधिवेशनको कसरत, कांग्रेस प्रतिनिधिले थाले हस्ताक्षर अभियान

काठमाडौं। कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर थालेका छन्। कांग्रेस नेता गुरुराज घिमिरे, देवराज चालिसेलगायत नेताहरुको नेतृत्वमा सोमबार ११० भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको मागका लागि हस्ताक्षर गरेका छन्।

Tata
GBIME
Nepal Life

अहिले विशेष परिस्थिति सिर्जना भएकोले विशेष महाधिवेशन समयको माग भएको र नेतृत्व फेर्नैपर्ने घिमिरेले बताए। ‘पार्टीले विशेष महाधिवेशन बोलाउनैपर्छ। केन्द्रीय समितिले बोलाउन सक्छ। तर केन्द्रीय समिति संवेदनशील देखिएन। तर केन्द्रीय सदस्यले छठपछिमात्र बोलाउने देखियो,’ घिमिरले भने, ‘नेतृत्व नै फेर्नुपर्छ।’

अहिले कांग्रेसमा शेरबहादुर देउवा सभापति छन्। उनलाई हटाएर जनताले पत्याएको नेता कांग्रेसमा ल्याउन आवश्यक भइकसकेको घिमिरले बताए। जनताले पत्याएको अनुहारलाई अघि सार्न अहिले विशेष महाधिवेशन गर्नैपर्ने उनको भनाई थियो। ‘जनताले विश्वास गरेका अनुहार, जनताले पत्याउने अनुहार हामी नेतृत्वमा पुर्‍याउँछौं,’ घिमिरेले भने।

विधानअनुसार बोलाउन केन्द्रीय समितिका ४० प्रतिशतले महाधिवेशनको माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्छ। कांग्रेसको विधानको धारा १७ को उपधारा २ मा भनिएको छ, ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरुले केन्द्रीय महाधिवेशनको बैठक बोलाउने विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ।’

दसैं सकिनसाथ ७५ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गरिने नेता देवराज चालिसेले बताए।

‘पौने ४८ सय महाधिवेशन प्रतिनिध छन्। ७५ प्रतिशतले हस्ताक्षर गरेर दसैंलगत्तै हामी विशेष महाधिवेशन माग्दैछौं,’ चालिसेले भने। घिमिरे र चालिसे संस्थापनइतरका नेताहरु हुन्।

कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने उद्घोष गरेका हुन्। दसैं-तिहारमा गाउँगाउँ पुग्ने नेता कार्यकर्तामार्फत यो अभियान सञ्चालनको तयारीमा महामन्त्री लागेका हुन्।

महामन्त्रीद्वय थापा र शर्माले युवा पुस्ताको मागअनुसार पार्टीमा नेतृत्व फेर्नुपर्ने माग गरिरहेका छन्। यसका लागि थापाले विशेष महाधिवेशन वा नियमित महाधिवेशन गर्न सकिने विकल्प प्रस्तुत गरिसकेका छन्। कांग्रेसको विधानअनुसार आउँदो मंसिरभित्र नियमित महाधिवेशन गरिसक्नुपर्छ। यसका लागि क्रियाशील सदस्यता विवाद अझै समाधान हुन सकेको छैन। क्रियाशील व्यवस्थापन समितिले असोज मसान्तसम्म विवाद समाधानको समय दिए पनि कहिले सुल्झिने टुंगो छैन।

महामन्त्रीद्वयले आउँदो केन्द्रीय समितिमा हस्ताक्षर प्रस्तुत गरी विशेष महाधिवेशनको माग गर्ने तयारी गरेका छन्। जेनजी विद्रोहपछि सिर्जित परिस्थितिबारे छलफल गर्न कांग्रेस नेताहरुले केन्द्रीय समिति बैठकको माग गरिरहेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा भदौ २४ मा आफ्नै निवासमा कुटिएपछि उपचाररत छन्। देउवा निको भएपछिमात्र केन्द्रीय समिति राख्ने तयारी कांग्रेसले गरेको छ।