जेनजी आन्दोलनपछि नयाँ पार्टी खोल्न निर्वाचन आयोगमा लाइन, होडमा को-को?



प्रकाश भण्डारी
२०८२ असोज ८ गते २१:१६ | Sep 24, 2025
जेनजी आन्दोलनपछि नयाँ पार्टी खोल्न निर्वाचन आयोगमा लाइन, होडमा को-को?

काठमाडौं। जेनजी आन्दोलनका कारण प्रतिनिधि सभा विघटन भएर फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकिएपछि केही व्यक्ति र समूह नयाँ दल दर्ताको गृहकार्यमा लागेका छन्।

Tata
GBIME
Nepal Life

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) जस्ता ठूला र पुराना पार्टीप्रति नागरिकमा चर्को आक्रोश रहेका बेला फाइदा उठाउन सकिने बुझाइमा नयाँ पार्टी गठनको होड सुरु भएको हो।

विभिन्न दलबाट राजीनामा दिएका नेता र केही चर्चित व्यक्ति समेत जेनजीका मुद्दा समेट्ने भन्दै नयाँ दल दर्ताको गृहकार्यमा लागेका छन्। जेनजीका मुद्दा उठाएर चुनावमा जाने भन्दै दैनिक तीन/चार वटा समूहले नयाँ दल दर्ताका लागि आयोगमा पुगेर प्रक्रियाबारे जानकारी लिने काम गरिरहेका छन्।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहमाथि जेनजीको भावनालाई समेट्ने गरी दल दर्ताका लागि दबाब बढिरहेका बेला अरु व्यक्ति र समूह नयाँ पार्टी गठन गर्नतिर लागेका हुन्। जेनजीले अन्तरिम सरकारमा बालेनलाई प्रधानमन्त्री बन्न अफर गरेका थिए। तर, बालेनले अस्वीकार गरे। बालेनले नयाँ दल गठन गर्ने धेरैको अनुमान छ।

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईका केही प्रतिनिधिले पनि नयाँ दल दर्ताको विषयमा आयोगमा पुगेर जानकारी लिएका छन्। नयाँ दल दर्ताको गृहकार्यमा रहेका अधिकांश प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डासहित चुनावमा जाने तयारीमा छन्।

दल दर्ताबारे बुझ्न आइतबार तीनवटा समूह आयोगमा पुगेका थिए। आयोगले नयाँ दल दर्ताका लागि कानुनी प्रक्रिया पुर्‍याएर आउन भनिरहेको छ।

चुनावी प्रयोजनका लागि आयोगले दल दर्ताको सूचना केही दिनमा निकाल्ने तयारी गरेको छ। ‘फागुन २१ गते चुनाव हुने घोषणा भएपछि दल दर्ताका लागि दैनिक विभिन्न व्यक्तिहरुले नयाँ पार्टी गठनका लागि बुझिरहेका छन्,’ आयोगका एक सदस्यले भने, ‘हामी अब केही दिनमा दल दर्ताका लागि सूचना निकाल्ने तयारीमा छौं।’

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मुख्यगरी दुईथरी व्यक्ति तथा समूहले दल दर्ताको विषयमा बुझ्ने काम गरिरहेको बताए। ‘एकथरीले नयाँ दल दर्ताका लागि प्रक्रिया के कस्तो छ भनेर बुझिरहेका छन्। अर्काथरी चाहिं पुराना दल हुन्,’ उनले भने। 

अहिले कायम रहेका दलले पनि चुनावमा भाग लिनका लागि आयोगमा दर्ता हुनुपर्छ।

गृहमन्त्री ओमप्रसाद अर्याल निर्वाचन आयोगका पदाधिकारीसँग

नयाँ पार्टी गठनको तयारीमा रहनेको सूचीमा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी पनि छन्। दल दर्ताको विषयमा बुझ्न आइतबार आयोगमा पुगेका भण्डारीले बिहीबार निवेदन दिने तयारी गरेका छन्।

भण्डारीले लोकतान्त्रिक विचारधारासहितको पार्टी गठन गर्न लागेको बताए। ‘दुई/तीन दिनमा पार्टी औपचारिकरुपमा घोषणा हुन्छ। जेनजी पुस्ताका मानिस पनि पार्टीमा रहनेछन्,’ भण्डारीले भने।

उनले अमृत खरेल, डा. दमनध्वज साउद, लेलिन विष्ट, डा. कमल किरण कटुवाल, डा. महेन्द्रजंग शाह, नुर मोहम्मद मिया, डा. राजेन्द्रप्रसाद न्यौपाने, राजेश काफ्ले, डा. सञ्जय खतिवडालगायतलाई समेटेर दल दर्ता गराउन लागेका हुन्।

भण्डारीले यसअघि ‘नेपालका लागि नेपाली’ पार्टी गठन गरेका थिए। तर त्यँ पार्टीमा अहिले उनी आफैं छैनन्।

जेनजीले अहिले अगाडि सारेका एजेण्डा आफूले पहिले नै उठाएर पार्टी गठन गरे पनि राम्ररी सञ्चालन नभएपछि अलग भएको भण्डारीले बताए।

‘भ्रष्टाचार छानबिनका लागि आयोग गठन, संघीयता र धर्मनिरपेक्षता खारेज लगायत एजेण्डासहित अभियानलाई दलका रुपमा दर्ता गरेका थियौं। तर म त्यहाँबाट यसअघि नै अलग भइसकेको हो,’ उनले भने।

सुरेन्द्र भण्डारी

‘नेपालका लागि नेपाली’मा रहँदा भण्डारीले हाल राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेका ज्ञानेन्द्र शाहीलाई २०७६ मंसिर ११ गते निष्कासन गरेका थिए। त्यो पार्टीको अध्यक्ष हाल बालकृष्ण न्यौपाने छन्।

भण्डारीविरुद्ध केही वर्षअघि महिला आयोगमा उजुरी परेको थियो। एक महिलाले आफू लामो समय भण्डारीसँग बसेको तर पत्नीको रुपमा स्वीकार गर्न आग्रह गर्दा ज्यान मार्ने धम्की दिएको भन्दै आयोगमा उजुरी दिएकी थिइन्। 

पुरानो पार्टी छाडेर नयाँ दल बनाउँदै

असोज २ गते जनमत पार्टी परित्याग गरेका अब्दुल खानले पनि नयाँ दल गठन गर्नतिर लागेका छन्। जनमत पार्टीमा उनी वरिष्ठ उपाध्यक्ष थिए। प्रतिनिधि सभा विघटनसँगै सांसद पद गएपछि उनले अध्यक्ष सीके राउतसँग असहमति जनाउँदै पार्टी परित्याग गरेका थिए।

खानले जनमत पार्टी परित्याग गरेका नेतासहित जेनजीसँग मिलेर नयाँ दल दर्ताको तयारी गरेका छन्। उनले तत्कालका लागि ‘युथ फर नेसन’ अभियान घोषणा गरेका छन्।

अब्दुल खान

खानसँगै जनमत पार्टी परित्याग गरेका प्रवक्ता डा. शरदसिंह यादव, जनमतका युवा संघका केन्द्रीय संयोजक संजय कुमार यादव, स्वास्थ्यकर्मी संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रमबहादुर बम नयाँ अभियानमा जोडिएका छन्।

उनीहरुले जनजीसँग मिलेर नयाँ दल दर्ता गर्ने तथा अबको चुनावमा उम्मेदवार उठाउने तयारी गरेको खान निकट एक नेताले बताए। ‘जनमत छोडेपछि नयाँ पार्टी बनाउने भनेर छलफल भएको छ। जेनजीसँग मिलेर उम्मेदवार उठाउने कुरा भइरहेको छ,’ उनले भने।

रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टी गठन गरेर २०७९ को प्रतिनिधि सभामा ४ सिट जितेका रेशम चौधरीले पनि प्रतिनिधि सभा विघटनपछि नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गर्ने घोषणा गरेका छन्।

पत्नी रञ्जिता श्रेष्ठसँग कुरा नमिलेपछि रेशमले नयाँ पार्टी गठन गर्न लागेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका केही केन्द्रीय सदस्यले समेत नयाँ दल गठनबारे छलफल थालेका छन्। केन्द्रीय सदस्य सुमना श्रेष्ठले रास्वपा छोडिसकेकी छन् भने अर्की केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पनि असन्तुष्टि जनाउँदै आएकी छन्।

चर्चामा अरु को को?

जेनजीको आन्दोलनपछि बनेको सरकारमा शक्तिशाली तीन वटा मन्त्रालयको नेतृत्व गरिरहेका कुलमान घिसिङ पनि नयाँ पार्टी गठनको गृहकार्यमा छन्।

हाल ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री रहेका कुलमानले पार्टी गठनको तयारीस्वरुप विश्वभर रहेका नेपालीसँग यसअघि नै अन्तरक्रिया गरिसकेका छन्।

गत चैत ११ गते आफूलाई नेपाली विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएपछि कुलमान ‘उज्यालो नेपाल अभियान’लिएर विभिन्न देश पुगेका थिए।

कुलमान घिसिङ

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाइँ आगामी चुनावमा नयाँ दलमा देखिनेछन्। बुद्धछिरिङ मोक्तानसँग मिलेर राष्ट्रिय मुक्ति पार्टी नेपाल गठन गरेका राजेन्द्र महतो पनि चुनावमार्फत शक्तिमा फर्किने कसरतमा छन्।

एमालेका पूर्वउपाध्यक्ष भीम रावलले मातृभूमि जागरण अभियान चलाइरहेका छन्। यो अभियानमार्फत रावल आफ्नो प्रभाव रहेका क्षेत्रमा उम्मेदवार उठाउने रणनीतिमा छन्।

कोशीमा डा. महेन्द्र लावती संयुक्त पहिचानवादी मोर्चालाई पार्टीका रुपमा अघि बढाएर चुनावमा उम्मेदवार उठाउने तयारीमा छन्।

गण्डकीमा सञ्चारकर्मी अपिल त्रिपाठीले नयाँ दल खोल्न परामर्श गरिरहेका छन्। नयाँ दल गठनका लागि छलफलमा गर्नेमा डा. भगवान कोइरालादेखि कलाकार भगवान भण्डारीसम्मको नाम छ। आयोगमा दर्ता भएका दलको संख्या १२२ छ।