जेनजी आन्दोलनले ट्राभल एजेन्सीको व्यवसाय चौपट, विदेश घुम्न जाने बुकिङ धमाधम रद्द



साइराम उपरकोटी
२०८२ असोज ३ गते १५:११ | Sep 19, 2025
जेनजी आन्दोलनले ट्राभल एजेन्सीको व्यवसाय चौपट, विदेश घुम्न जाने बुकिङ धमाधम रद्द


काठमाडौं। जेनजीको आन्दोलन र विभिन्न देशले नेपालीहरूलाई भिसामा गरेको कडाइको असर ट्राभल एजेन्सीहरूको व्यवसायमा परेको छ। विभिन्न देशमा घुम्न लाने प्याकेज बेच्दै आएका ट्राभल एजेन्सीमा अहिले बुकिङ रद्द गराउने क्रम बढेको छ।

Tata
GBIME
Nepal Life

व्यवसायीहरूका अनुसार दसैंमा यूएई घुम्न जाने प्याकेज बुकिङ गराएकामध्ये ९० प्रतिशतले रद्द गरेका छन्।

ट्राभल एजेन्सी सी लिङ्कस होलिडेजका निर्देशक विशिष्ट कोइरालाले शारजाह घुम्नका लागि भएका बुकिङमध्ये ९० प्रतिशत रद्द भएको जानकारी दिए।

‘दसैं तिहारमा शारजाह जानका लागि हामीकहाँ २०० जनाले प्याकेज बुकिङ गराएका थिए। तर, जेनजीको आन्दोलन र यूएईले भिसा बन्द गरेका कारण १८० जनाले बुकिङ रद्द गराइसकेका छन्। अहिलेसम्म ५ प्रतिशतको भिसा आएकामा अब त्यो पनि के हुन्छ थाहा छैन,’ कोइरालाले भने।

यूएईले भदौ ३० देखि नेपालीहरूका लागि भिसा बन्द गरेको छ। कन्सुलर विभागका सूचना अधिकारी सुरेश अधिकारीले भने भिसामा कडाइ गरिएको पत्र नआएको जानकारी दिए।

‘सञ्चारमाध्यमले नेपालीहरूलाई भिसामा कडाइ गरेको समाचार लेखे पनि हामीलाई आधिकारिक पत्र आएको छैन,’ उनले भने।

भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट ठूलो संख्यामा कैदीहरू बाहिर निस्केपछि भारतले सीमा नाकामा कडाइ गरेको छ।

कोइरालाका अनुसार शारजाह मात्र होइन अन्य गन्तव्यमा जानका लागि प्याकेज बुकिङ गराएकाहरूले पनि अहिले धमाधम रद्द गरिरहेका छन्।

‘हाम्रोमा विदेशका विभिन्न गन्तव्यमा घुम्नका लागि ५०० जनाले बुकिङ गराउनुभएको थियो। अहिले १२० जनाको मात्र बुकिङ छ,’ उनले भने, ‘धमाधम बुकिङ रद्दले हामीलाई घाटा भएको छ।’

कान्तिपुर होलिडेजमा दुबई घुम्नका लागि १५० जनाले बुङिङ गराएकामा अहिलेसम्म कसैको भिसा आएको छैन।

‘हामीकहाँ दुबई जानका लागि १५० जनाले बुकिङ गराएका थिए। अहिलेसम्म कसैको भिसा आएको छैन भने यूएईले बन्द गरेकाले अब सबैको बुकिङ क्यान्सिल हुने भयो,’ कम्पनीका एक कर्मचारीले भने।

कम्पनीका अनुसार थाइल्याण्ड, जापान र युरोप जानका लागि भएको बुकिङ जेनजी आन्दोलनपछि धमाधम रद्द भइरहेका छन्।

‘अहिले थाइल्यान्ड, युरोप र जापानको भिसा पनि सजिलोसँग लागिरहेको छैन। कतिपयको क्यान्सिल भइरहेको छ। थाइल्यान्डको हिजो मात्र ३ जनाको भिसा रद्द भयो। कारण के हो? थाहा छैन। बुकिङ गराएकाहरूले पनि जेनजीको आन्दोलनमा भएको विध्वंशको कारण देखाएर घुम्ने मुड नरहेको भन्दै फोन गरेर रद्द गर्न भनिरहेका छन्,’ कम्पनीका ती कर्मचारीले भने, ‘विदेशी पर्यटकले बुकिङ रद्द गराइरहेका बेला नेपालीहरू पनि त्यही बाटोमा लाग्दा हाम्रो व्यवसायमा दोहोरो मार परेको छ।’

इमेज होलिडेजका टुर म्यानेजर पुरुष पौडेलले पनि जेनजीको आन्दोलनले विदेश लाने प्याकेजको बुकिङ धमाधम रद्द भइरहेको बताए।

‘अहिले यूएई लैजान सक्ने अवस्था छैन। मलेसिया र चीनमा पनि केही कडाइ गरिएका कारण १०/१५ जनाको ग्रुपको बुकिङ भिसा सियोर नदेखेर हामीले नै रद्द गरेका छौं,’ उनले भने।

इमेज होलिडेज अहिले थाइल्यान्ड र सिंगापुरको प्याकेज बेचिरहेको छ। तर, बुकिङ नगन्य छ।

‘हामी अहिले थाइल्यान्ड र सिंगापुरमा फोकस छौं। तर, बुकिङ सोचे जस्तो छैन। दसैं आइसक्यो। तर, ट्राभल गर्न २/३ जनाले मात्र बुकिङ गराएका छन्,’ पौडेलले भने।

यो कम्पनीले पोहोर दसैंमा २०० जनालाई विदेश घुमाएको थियो।

रुप्से होलिडेजले भने धेरै असर नपरेको दाबी गरेको छ। कम्पनीका म्यानेजर भुवन बस्नेतले यूएई बाहेक अन्य देशमा घुम्न जान भिसाको समस्या नरहेकाले जेनजी आन्दोलनले खासै समस्या नपारेको बताए।

‘हामीले यसपालि पोहोरजस्तो दुबईका लागि फोकस नगरेकाले भिसामा कडाइले समस्या हुने कुरा भएन। एक/दुईवटा बुकिङ थियो। भिसा बन्दका कारण हामीले नै बुकिङ रद्द गर्न लगाएका छौं,’ उनले भने, ‘भियतनाम, बाली लगायत गन्तव्यमा जान चाहनेहरूलाई हामीले प्याकेज बेचिरहेका छौं। आन्दोलनले खासै समस्या पारेको छैन।’

बस्नेतका अनुसार रुप्से होलिडेजले सेप्टेम्बर २० देखि अक्टोबर १० सम्म हरेक दिन २० देखि २५ जनाको समूह भियतनाम र बाली लाने गरी प्याकेज बिक्री गरिरहेको छ।

बालीका लागि ४ रात ५ दिनको प्याकेजको मूल्य ९० हजारदेखि १ लाख २० हजारसम्म र भियतनामका लागि १ लाख १० हजारदेखि १ लाख ६० हजार रुपैयाँसम्म छ। कम्पनीले चीन घुम्न चाहनेहरूलाई पनि प्याकेज बेचिरहेको छ। चीन घुम्ने प्याकेजको मूल्य १ लाख ३० हजार देखि १ लाख ४० हजार रुपैयाँ छ।

जेनजी आन्दोलनका कारण नेपालमा विदेशी पर्यटक पनि घटेका छन्। विदेशीहरूले नेपाल भ्रमणका लागि गरेको बुकिङ धमाधम रद्द गराइरहेका छन्।