दैनिक उपभोग्य वस्तुहरूको अनावश्यक रुपमा सञ्चय नगर्न वाणिज्य विभागको आग्रह



बिजमाण्डू
२०८२ भदौ २९ गते १७:५० | Sep 14, 2025
दैनिक उपभोग्य वस्तुहरूको अनावश्यक रुपमा सञ्चय नगर्न वाणिज्य विभागको आग्रह

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तुहरूको अनावश्यक रुपमा सञ्चय नगर्न अनुरोध गरेको छ।

Tata
GBIME
Nepal Life

उपभोक्ता हितलाई ध्यानमा राख्दै विभागले उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, संचयकर्ता, विक्रेता लगायत सम्पूर्ण निजी क्षेत्रलाई माग, आपूर्ति र मूल्यमा प्रतिकूल असर पार्ने गरी वस्तु सञ्चित नगर्न अनुरोध गरेको हो।

बजारमा दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरूको अभाव नभएको स्पष्ट गर्दै विभागले आम उपभोक्तालाई आवश्यकता भन्दा बढी खरिद तथा सञ्चय नगर्न पनि अनुरोध गरेको छ।

विभागले बजार आपूर्ति नियमित गर्न आग्रह गरेको छ। भदौ २३ र २४ गतेको आन्दोलन र त्यसबाट उत्पन्न विषम परिस्थितिपछि अवस्था क्रमशः सामान्य बन्दै गएको छ।

विभागले यस्तो अवस्थामा दैनिक उपभोग्य वस्तु तथा सेवाहरू सहज रूपमा उपलब्ध गराउँदै उपभोक्ताको हित संरक्षण गर्नु आवश्यक भएको बताएको छ। त्यसका लागि सम्बन्धित सबैलाई आवश्यक कदम चाल्न अनुरोध समेत गरेको छ।

यस कार्यमा आवश्यक सहयोग र सहजीकरणका लागि उपभोक्ता हकहितमा काम गरिरहेका संघसंस्था, सञ्चारमाध्यम र सरोकारवालाहरूलाई पनि विभागले सक्रिय सहभागिता जनाउन अपिल गरेको छ।