काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्। उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्याग गरेको घोषणा गरेकी छन्।
पार्टी नेतृत्वले एकपछि अर्को गल्ती दोहोर्याएको तर त्यसको बोझ पार्टीले बोक्नुपर्ने अवस्था रहेकाले सहन नसकेर अलग भएको सुमनाले बताएकी छन्।
‘कहिलै गल्ती नस्वीकार्ने। गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने। पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने। जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएको हुँ। तर, त्यसले कत्ति पनि फरक पारेन। अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो। यो स्वीकार्य छैन। अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला। आई क्विट। मैले पार्टी छोडें।’
उनले पार्टी सभापति रवि लामिछानेमाथि लागेको सहकारीको रकम हिनामिनाको मुद्दामा पार्टीले सडकमा उत्रिएको असन्तुष्टिस्वरुप गत वैशाख पहिलो साता सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन्।
लामिछाने जेनजी आन्दोलनको बलको नाममा भदौ २४ गते नख्खु कारागारबाट बाहिरिएपछि पार्टीभित्र थप असन्तुष्टि बढेको थियो। चौतर्फी विरोध भएपछि लामिछाने शनिबार नख्खु कारागार फर्किएका छन्।
सुमनाले कांग्रेस, एमाले लगायत पार्टीका तेस्रो पुस्ताका नेतालाई पनि कि पार्टी छोड्न नभए नेतृत्व परिवर्तन गर्न आग्रह गरेकी छन्।
‘कांग्रेस एमाले लगायत पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस्। आजको दिनको परिस्थिति आउन तपाइँहरूको भन्दा बढी तपाइँहरूको नेतृत्वको बहेराले हो। त्यो किन बोकेर बस्नु हुन्छ? अहिले सही समय आएको छ। आफ्ना नेताहरूलाई पुजा गर्न बन्द गर्नुहोस्। कि हटाउनुहोस्, कि हट्नुहोस्,’ उनले भनेकी छन्।











