काठमाडौं। उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा भविष्यप्रति आशावादी सुनिएका छन्। उनले सामाजिक सञ्जालमा नयाँ पुस्ताले देखेको नयाँ सपना पुरा होस् भन्ने कामना गर्दै निजी क्षेत्र पुनः सबल बन्ने विश्वास व्यक्त गरेका छन्।
जेनजी प्रदर्शनका नाममा उनको सीतापाइलामा रहेको घरमा समेत आक्रमण गरिएको थियो। घर तोडफोड, सवारी साधन जलाउनेदेखि लुटपाटसम्म भएको छ। परिवारसहित घरभित्रै रहेका गोल्छा आक्रमण सुरु भएपछि भित्री बाटो हुँदै निस्किएका थिए।
जेनजी आन्दोलनले सिंहदरबारसहित मुलकका अधिकांश सरकारी संरचना ध्वस्त भएका छन्। मुलुक सरकारविहीनताको अवस्थामा छ। आन्दोलनको आडमा गरिएको ध्वंसले निजी क्षेत्रलाई पनि ठूलो आर्थिक क्षति भएको छ। उनले यस्तो अवस्थामा पनि आफूहरु मुलुकमा अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
‘देशमा सकारात्मक परिवर्तनसहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पुरा होस्,’ उनले भनेका छन्।
‘केही व्यवसायीमाथि भएको वीभत्स आक्रमणबाट हाम्रो परिवार पनि प्रभावित भयो तर म र मेरो परिवार निराश वा विचलित भएको छैन। आजको सुनौलो बिहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामनासहित हामी पनि अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छु,’ उनले भनेका छन्।
‘अन्धकार पछिको उज्यालोले हामी सबै नेपालीलाई सद्भाव र एकता कायम गर्न अझै बल मिलोस् अर्हं,’ सामाजिक सञ्जालमा उनले पोस्ट गरेका छन्।











