कर्फ्यूले दोधारमा कर्मचारी : घरमा नै बस्ने कि कार्यालय जाने? बैंक पनि नखुल्ने



बिजमाण्डू
२०८२ भदौ २४ गते ०८:५० | Sep 9, 2025
कर्फ्यूले दोधारमा कर्मचारी : घरमा नै बस्ने कि कार्यालय जाने? बैंक पनि नखुल्ने

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा भेग तोकेर त्यहाँका जिल्ला प्रशासन कार्यालये कर्फ्यू लगाएको छ। जसकारण दैनिक काममा जानेहरु दोधारमा परेका छन्।

Tata
GBIME
Nepal Life

सोमबार नै निजी शैक्षिक संस्थाले विद्यालय बिदा दिइसकेका थिए। तर, सरकारी र निजी क्षेत्रका कार्यालयका कर्मचारीहरुलाई भने अन्योल नै छ। काठमाडौं जिल्लामा अधिकांश ठाउँमा बिहान साढे ८ बजेदेखि कर्फ्यू लागू गरिएको छ।

कर्मचारी र कार्यालय फरक फरक स्थानमा हुँदा सहजै आवतजावतमा समस्या रहेको छ। अत्यावश्यक क्षेत्रमा काम गर्नहरुको हकमा भने समस्या छैन। सरकारी कर्मचारीको हकमा अत्यआवश्यक क्षेत्रमा काम गर्नेहरूलाई परिचयपत्र देखाएर आउन ‘उर्दी’ गरिएको छ।

‘हामीले भित्रभित्र अत्यावश्यक क्षेत्रका कर्मचारीलाई आउन भनेका छौं। तर अन्य क्षेत्रमा भने आउनुपर्छ भन्ने छैन। उनीहरू अहिले टार्गेटमा छन्,’ गृह मन्त्रालयका एक उच्च कर्मचारीले भने।

निजी क्षेत्रका कर्मचारी पनि दोधारमा रहेका छन्। यता बैंकर्स संघले भने कर्फ्यू लगाएका क्षेत्रहरूमा बैंक तथा वित्तिय संस्थाहरु नखोल्ने जनाएको छ। बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले कर्फ्यू लागू भएको क्षेत्रमा कार्यालयहरू नखोल्ने निर्णय भएको बताए।

‘कर्फ्यू लगाएको क्षेत्रमा कार्यालय खोलिँदैन। अरु क्षेत्रमा के गर्ने कर्मचारीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ, निर्देशक शर्माले भने।

त्यस्तै, अन्य निजी क्षेत्रहरूले पनि व्यसायहरु संचालन नगर्ने भएका छन्। सुरक्षाको चुनौती देखिएको भन्दै अहिलेको अवस्थामा व्यवसायहरू संचालन गर्न नसकिने नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ।

यता गृह मन्त्रालयले निजी कार्यालयहरूको विषयमा भने जिल्ला प्रशासनहरूलाई नै निर्णय  गर्न आदेश दिएको छ। जिल्ला प्रशासन कार्यालयले भने अत्यावश्यक बाहेक कर्फ्यू क्षेत्रमा कार्यालय नखोल्न भनिएको छ।

धितोपत्र बोर्डले पनि कारोबार नगर्ने तयारी गरेको। अहिलेसम्म औपचारिक निर्णय गरिसेको छैन। तर अनौपचारिक रुपमा कारोबार हुन नसक्ने भएकाले  कारोबार नगर्ने तयार रहेको छ।