काठमाडौं। सरकारी कामकारबाहीलाई लिएर सामाजिक सञ्जालमा आक्रोश पोख्दै आएको जेनजी पुस्ता सरकारले त्यो प्लेटफर्म बन्द गरिदिएपछि आगो भएको छ।
अध्ययन, आयआर्जन र अभिव्यक्तिको महत्वपूर्ण माध्यम सरकारले जनआक्रोश दबाउनका लागि बन्द गरिदिएपछि जेनजी पुस्ता विरोधस्वरुप सडकमा ओर्लिने तयारीमा लागेको छ।
जेनजी पुस्ताले सामाजिक फेसबुक, ह्वाट्स एप, एक्स लगायत सामाजिक सञ्जाल बन्दको विरोधमा टिकटकमार्फत आन्दोलन छेड्ने उदघोष गरेको छ। उनीहरु सडकमा नै ओर्लिन लागेका छन्। उनीहरुले सोमबार काठमाडौं, पोखरा, विराटनगरलगायत देशका विभिन्न स्थानमा प्रदर्शनका लागि आह्वान गरेका छन्।
सरकारले भदौ १९ गते फेसबुक, ह्वाट्सएप, इन्स्टा, युटुबजस्ता २६ वटा सामाजिक सञ्जाल एकैसाथ बन्द गर्ने निर्णय गरेसँगै आक्रोश चौतर्फी चुलिएको हो। जेनजी पुस्ताले मौलिक हक हनन पछि नेपोबेबदेखि नेपोटिजम र भ्रष्टाचारविरुद्ध मुद्दा बनाएर अभियान नै चलाएका छन्।
यसरी अभियान चलाउनेमध्येका एक युवा हुन् काठमाडौंका मिराज ढुंगाना। ढुंगानाका अनुसार देशको प्रणाली नै दलीय संयन्त्रले ध्वस्त पारिसकेको हुनाले यो पुस्ता सडकमा निस्कनैपर्ने अवस्था आएको बताए। ‘हामी प्रष्ट छौं। अहिले देश भ्रष्टाचारले थङथिलो भइसकेको छ। यसको मुख्य कारण सिस्टमको खराबी हो,’ ढुंगानाले भने।
यो त्यस्तो पुस्ता हो, जसलाई तत्कालीन राजाको सक्रिय शासन, २०६२/६३ को जनआन्दोलनबारे जानकारी छैन। ज्ञानेन्द्रको शासनकालमा संचारमाध्यम नेपाली सेनाले कब्जा गरेको, टेलिफोन सेवा बन्द गरेको उनीहरुको स्मृतिमा रहने कुरै भएन। उनीहरुले फेसबुक, एक्स, इन्स्ट्राग्राम र युट्युबमार्फत भएको डिजिटल क्रान्ति मात्रै बुझेका छन्।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले सरकारको नेतृत्वमा रहेर गरेका एकपछि अर्को गलत कामले उनीहरु वाक्क दिक्क छन्। यी तीन नेताको नेतृत्वमा युवा पुस्ताले सुशासनको अनुभूति गर्न पाएको छैन। देशमा बेथिति, भष्टाचार र कुशासनका कारण दलहरुप्रति नै उनीहरुको वितृष्णा छ।

उनीहरुले सार्वजनिक सेवामा खेप्नुपरेको हैरानीको भारी बिसाउने माध्यमका रुपमा सामाजिक सञ्जाल प्रयोग गर्दै आएका थिए। कुशासनविरुद्ध उनीहरुको आवाज बुलन्द भएको प्रधानमन्त्री ओली लगायत शीर्ष नेतृत्वलाई चित्त बुझिरहेको थिएन।
शासन सत्तामाथि जेनजी पुस्ताको मुख थुन्ने प्रयासस्वरुप सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको बुझ्न कठिन छैन। करिब दुई वर्षअघि प्रचण्डले टिकटकमा प्रतिबन्ध लगाएका थिए। त्यतिखेर प्रचण्डलाई साथ दिएका देउवाले अहिले ओलीको कदममा पनि आँखा चिम्लिएका छन्।
‘कुनै नेता पनि जनताप्रति जिम्मेवार भएनन्। जुनसुकै परिवर्तन आए पनि देशमा सुशासन भएन। नेताले आफ्ना आसेपासे र सन्तानबाहेकलाई हेर्दै हेरेनन्। उनीहरुको मनोमानी अति भयो। अब हामीले बोल्न र आयआर्जन गर्न पनि नपाउने?,’ ढुंगानाले भने, ‘हामीलाई दलहरुले विगतमा कति संघर्ष गरे भन्नेसँग मतलव छैन। हामीले आफूलाई लागेको बोल्न र गरिखान पाउनुपर्छ। सहनका लागि हामी कसैका दास र झोले होइनौं।’
जेनजी पुस्ताको अभियान सडकसम्मै पुग्न लाग्दा सबैभन्दा बढी तारोमा कांग्रेस सभापति शेरबहादुर देउवाका छोराबुहारी परेका छन्। देउवापुत्र जयवीर र बुहारी शिवानाको ल्याभिस लाइफको फोटो भिडियो राखेर जेनजी पुस्ताले ‘नेपोबेब’ अभियान चलाइरहेको छ।
फेसबुक, युट्युब बन्द भएसँगै कन्टेन्ट क्रिएटरदेखि डिजिटल मार्केटिङ गर्नेहरु प्रत्यक्ष मारमा परेका छन्। डिजिटल नेपालको नारा दिएको सरकारले यसखाले व्यवसायीको आयआर्जनबारे कुनै विकल्प नदिई हठातरुपमा सामाजिक सञ्जाल बन्द गरेको हो।
जसको विरुद्धमा ढुंगानाजस्ता धेरै टिकटकरले सरकार र शीर्ष नेताविरुद्ध आक्रोश पोखिरहेका छन्। जेनजी पुस्ताले गर्न लागेको प्रदर्शनलाई सामाजिक सञ्जालमार्फत व्यवसाय गर्दै आएकाहरु र इन्फ्लुएन्सरदेखि कतिपय राजनीतिकर्मीले नै समर्थन जनाएका छन्। धेरैले ‘नेपालको स्टोरेज भ्रष्टाचारले फुल, अब जेनजीले क्लिन’ भन्दै जेनजीको अभियानमा साथ दिएका छन्।

एमाले नेता एवं पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा सरकारको निर्णयविरुद्ध आक्रामक देखिएका छन्। यसअघि सामाजिक सञ्जाल बन्दको निर्णयलाई लिएर सरकार उत्तर कोरिया पथमा लागेको टिप्पणी गरेका बाँस्कोटाले विश्वभर ‘मिलिनियल’ पुस्तामा नेतृत्व हस्तान्तरण भइरहेका बेला नेपालमा भने बेबी बुमरहरुकै हाली मुहाली रहेको उल्लेख गरेको भन्दै जेनजी पुस्ताको अभियानमा साथ रहेको सन्देश दिएका छन्।
‘जेनजी र अल्फा पुस्ता आइसक्यो तर यहाँ बेबी बुमर पुस्ताले थर्काउँदैछ। हाहुमा हैन क्षितिज पारीसम्म नियालेर ऊ आयो भने कसैले रोक्न सक्दैन,’ बाँस्कोटाले आफ्नो फेसबुक एकाउन्टमा लेखेका छन्।
संचारकर्मी सुधीर शर्माले जेनजी पुस्तालाई कमजोर नआँक्न सरकारलाई चेतावनी दिएका छन्। ‘केही दिनयता नेपोबेबिजका नाममा राजनीतिक भ्रष्टाचारविरूद्ध देश-विदेशबाट उर्लिरहेको आवाजको आयतनलाई सत्तासीन वर्गले सायद अहिले पनि ठम्याउन सकिरहेको छैन। यसले ल्याउने बाढीले २०८४ सम्ममा (र, सायद अहिल्यै पनि) धेरैलाई बगाउन सक्छ,’ शर्माले भनेका छन्।
शासकहरु आफ्ना कमजोरी सुधार गर्नुको साटो उत्तर कोरिया पथमा लागेर बोल्नै नदिने बाटोमा लागेपछि जेनजी पुस्ताले सडकमा आउन बाध्य ठानेको हो। जेनजी पुस्ताको खबरदारी सरकारका लागि भारी पर्ने देखिएको छ।
सोमबारको प्रदर्शनलाई लिएर स्थानीय प्रशासन झस्किसकेको छ। जेनजी पुस्ताले गर्ने भनेको प्रदर्शनलाई लिएर समाजको ठूलो तप्काले साथ दिने संकेत देखिएपछि स्थानीय प्रशासन सुरक्षा रणनीति बनाउनतिर लागेका छन्।
‘जेनजी पुस्ताले टिकटकमार्फत चलाएको अभियान हेर्दा पदर्शन ठूलै हुने देखिएको छ। हामी त्यही अनुसार सुरक्षा रणनीति बनाउँदैछौं,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले भने।











