रुकुमपूर्वमा बन्ने भो सानीभेरी हाइड्रोपावर, वित्तीय व्यवस्थापनका लागि सम्झौता



बिजमाण्डू
२०८२ भदौ १६ गते १८:०० | Sep 1, 2025
रुकुमपूर्वमा बन्ने भो सानीभेरी हाइड्रोपावर, वित्तीय व्यवस्थापनका लागि सम्झौता

काठमाडौं। ४४.५२ मेगावाट क्षमताको सानीभेरी हाइड्रोपावरमा ७ अर्ब २० करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

प्रवर्धक कम्पनी एक्पर्ट हाइड्रो इन्भेष्टमेन्ट र सिटिजन्स बैंकबीच सोमबार काठमाडौंमा आयोजनाको वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो।

एक्पर्ट हाइड्रोका प्रबन्ध निर्देशक सन्तोषराज नेपाल र सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। हस्ताक्षरका क्रममा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा पनि उपस्थित थिए।

सम्झौता अनुसार आयोजनामा सिटिजन्स बैंकको नेतृत्वमा पाँच बैंकले ७ अर्ब २० करोड लगानी गर्ने छन्। सिटिजन्स बैंकले २ अर्ब ५० करोड, नबिल बैंकले १ अर्ब ५० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब २० करोड, सानिमा बैंक र सिद्धार्थ बैंकले १/१ अर्ब रुपैयाँ लगानी गर्ने टुंगो लागेको छ।

९ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा २५ प्रतिशत स्वपुँजी लगानी हुनेछ।

सिटिजन्स बैंकका सीइओ पोखरेलले आयोजना समयमै सम्पन्न गर्न प्रवर्धकसँग आग्रह गरे।

गणेशराज पोखरेल

एक्पर्ट हाइड्रोका प्रबन्ध निर्देशक नेपालले वित्तीय व्यवस्थापनसँगै आयोजना समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाए।

‘वित्तीय साझेदारहरूसँगको सहकार्यले आयोजना समयमै सम्पन्न गरी राष्ट्रिय ग्रिडमा योगदान पुर्‍याउने हाम्रो साझा लक्ष्यलाई साकार तुल्याउनेछ,’ उनले भने।

उनले रुकुमपूर्वमा निर्माण हुने आयोजनाले त्यो क्षेत्रको समग्र आर्थिक समृद्धि र दिगो विकासमा उल्लेखनीय योगदान पुयाउने विश्वास लिएको बताए।

आयोजना रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-७ र १४ मा निर्माण हुनेछ। यो ‘रन अफ दि रिभर’ आयोजना हो। आयोजनाको कुल हेड १४४.५२ मिटर छ। आयोजनाबाट वार्षिक सरदर २८३.३७ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ।  

आयोजनाका मुख्य संरचना सानीभेरी नदीको बायाँ किनारमा निर्माण गरिनेछन्। हेडवर्क्स पुथा उत्तरगंगा गाउँपालिकाको-७ र १४ मा निर्माण गरिनेछ।

आयोजनाबाट उत्पादन हुने विद्युत ५० हर्जको ट्रान्सफर्मरबाट करिब २० किलोमिटर प्रसारण लाइन निर्माण गरेर प्रस्तावित बाँफिकोट सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ। 

आयोजना निर्माण सुरु गरेको ४२ महिनामा विद्युत उत्पादन गर्ने लक्ष्य छ। आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग २०८० असार २७ गते विद्युत खरीद विक्री सम्झौता (पीपीए) गरिसकेको छ।

आयोजनाको हेडवर्क्स तथा विद्युत गृहका लागि आवश्यक व्यक्तिगत जग्गा खरिदको काम भइसकेको छ।