काठमाडौं। दसैं आउन तीन साता मात्र बाँकी रहँदा उत्तरी छिमेकी चीनसँगको व्यापार राणाकालीन अवस्थामा फर्किएको छ।
चीनसँगको मुख्य नाका रसुवा करिब दुई महिनादेखि बन्द रहँदा अर्को नाका तातोपानीमा भरिया लगाएर सामान भित्र्याउनपर्ने बाध्यता आइलागेको छ।
कोदारी क्षेत्रको सडकमा गाडीबाट सामान ल्याउने अवस्था नभएपछि व्यवसायीहरुले भरियालाई बोकाएर ल्याएका छन्। सडक बन्छ भनेर कुर्दा सामान नै खेर जाने अवस्था देखेपछि व्यवसायीहरुले स्याउ, लसुन लगायत वस्तु भरियालाई बोकाएर ल्याएका हुन्।
दसैंको सामान ल्याएका कन्टेनर नेपालतर्फको सडकको दूरावस्थाका कारण चीनतर्फ रोकिएको एक महिनाभन्दा बढी भइसकेको छ। २० दिनपछि गत साता सञ्चालनमा आएको कोदारीको सडक पहिरोका कारण ५ दिनदेखि पुन: बन्द छ।
एस्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहे पनि व्यवसायीहरु आश्वस्त हुन सकेका छैनन्। त्यही कारण उनीहरुले भरिया खोजेर सामान भित्र्याएका हुन्।

तीन साताअघि उड्ने कार पनि भरियालाई बोकाएर ल्याइएको थियो।
तातोपानी भन्सार कार्यालयका अधिकृत सूर्यप्रसाद काफ्ले कोदारी क्षेत्रमा पहिरोका कारण सडकमा गाडी चलाउने अवस्था नरहेकाले व्यवसायीहरुले बिग्रने खालका वस्तु भरियालाई बोलाएर ल्याइरहेको बताए।
‘दिनभरी लगाएर बाटो बनायो। पानी परेपछि फेरि पहिरोले बगाउँछ। जसका कारण सामान ल्याउन धेरै कठिनाई भएको छ। कतिपय व्यवसायीले बाटोमा धेरै दिन राख्दा बिग्रिने खालका वस्तु भरिया प्रयोग गरेर ल्याइरहेका छन्,’ उनले भने, ‘स्काभेटर प्रयोग गरेर ट्र्याक खोल्ने काम भने भइरहेको छ।’

व्यवसायीहरुले दसैंका लागि मगाएका ४० कन्टेनर सामान तातोपानी नाकामा आए पनि कोदारीको सडकका कारण व्यवसायीले ल्याउन सकेका छैनन्। रसुवा नाका असार २४ गतेदेखि नै बन्द छ।
नेपाल र चीन जोड्ने पुल ल्हेन्दे खोलामा आएको बाढीले बगाएपछि रसुवा नाका बन्द भएको हो। नाका खुलाउनका लागि चीनले बेलिब्रिज बनाउने काम गरिरहेको छ।
रसुवा नाका बन्द हुँदा व्यवसायीले मगाएका करिब ३०० कन्टेनर सामान केरुङमा रोकिएका छन्। तातोपानी नाका भरपर्दो नभएका कारण व्यवसायीहरुले सामान डाइभर्ट गर्न मानेका छैनन्।
चीनसँगको एउटा नाका बन्द र अर्को नाकाको कन्तविजोग हुँदा कतिपय व्यवसायीले भने चिनियाँ सामान पानीजहाजमा कोलकाता हुँदै ल्याउन थालेका छन्।
दसैं सुरु हुन तीन साता मात्र बाँकी रहेको अवस्थामा सडकका कारण सामान चीनतर्फ नै अड्किएपछि व्यवसायीहरु तनावमा छन्।
पोहोर/परार दसैं सुरु हुनु १५ दिनअघि अधिकांश सामान बिक्री गर्ने गरेका काठमाडौं महाबौद्धका होलसेल व्यापारीहरु यसपालि के गर्ने के नगर्ने अप्ठेरोमा परेका छन्।
न उनीहरुसँग सामान छ, न त खुद्रा बिक्रताले अर्डर गरेका छन्। व्यापार गर्नुपर्ने मुख्य सिजनमा होलसेल पसल सुनसान जस्तै छन्। आफ्नो सामान कहिले आइपुग्छ भन्ने जवाफ दिनसक्ने अवस्थामा व्यवसायीहरु छैनन्।
‘सामान आइपुग्न कति दिन लाग्छ भनेर भन्न सक्ने अवस्था नै छैन,’ महाबौदका होलसेल व्यवसायी राजेन्द्र श्रेष्ठले भने, ‘करोडौं रुपैयाँको सामान बाटोमा कुन अवस्थामा छ भन्ने पनि जानकारी छैन।’
उनले दसैंका लागि पहिलो लटमा केरुङ नाका हुँदै सामान मगाएका थिए। तर रसुवा नाका बन्दका कारण केरुङमै अड्कियो। रसुवा नाका बन्द भएपछि तातोपानी नाकातर्फबाट सामान मगाए। त्यो सामान पनि नेपाल भित्रिन सकेको छैन।
‘व्यापारका लागि हाम्रो मुख्य सिजन भनेको दसैं हो। तर दसैंमा नै सामान नभएपछि वर्षदिनको खर्च कसरी धान्नु,’ उनले भने, ‘दसैंलाई मगाएका सामान महिना दिनभन्दा बढी समयदखि बाटोमा अलपत्र पर्दा पनि नाका खुलाउन सरकार पटक्कै गम्भीर देखिएन। नाकामा अवरोधले हाम्रो करोडौं रुपैयाँ डुब्ने अवस्था आएको छ।’
तातोपाना नाकामा पटक पटकको अवरोधका कारण व्यवसायीहरुलाई अब दसैं अगाडि सामान आइपुग्छ भन्ने विश्वास हुन छोडेको छ।

श्री गणेश इन्टरनेसनलका सुनिल कुँवरले दसैंका लागि बिक्री गर्ने आफूहरुसँग नयाँ कपडा नरहेको बताए। ‘दसैंका लागि भनेर मगाएको कपडा केरुङ र तातोपानीमा अड्किएको छ। हामीसँग पुरानो स्टकबाहेक कपडा छैन,’ उनले भने, ‘यसपालिको दसैं व्यापारविहीन हुने अवस्था भयो। हामीसँग केही कपडक स्टकमा छ। तर बजारमा नयाँ कपडाको माग हुने भएकाले स्टकको सामान बेच्न सहज हुँदैन।’
दुवै नाकातर्फ कन्टेनर लामो समयदेखि रोकिएका कारण आफूहरुसँग खुद्रा व्यापारीले कपडाका लागि यसपालि सोधीखोजी नै नगरेको होलसेल व्यापारीहरुको भनाइ छ।
रन्जना गल्लीमा रहेको सगुन इम्पेक्सका संचालक चुडामणि पौडेलले दसैंका लागि भनेर चीनबाट लेडिज जुत्ताचप्पल मगाएको तर कहिलेसम्म आइपुग्छ भन्ने टुंगो नरहेको बताए। उनले भदौ पहिलो साता आइपुग्ने गरी सामान मगाएका थिए।
‘होलसेल बजारमा नयाँ सामान आएको छैन भन्ने खुद्रा व्यापारीलाई थाहा छ। त्यसैले दसैं नजिकिए पनि उनीहरु हामीकहाँ आएका छैनन्,’ उनले भने।
महाबौद्धकै रेडिमेड हाउसका संचालक शिव थापाले पनि दसैंका लागि आफूले अर्डर गरेको सामान तातोपानी नाकामा अड्किएको बताए।
‘बाटो खुल्यो भने यो साताभित्र आउन सक्छ। तर, अहिलेसम्मको स्थिति हेर्दा ढुक्क हुने अवस्था छैन। सामान नभएपछि बजार अब महँगिन्छ,’ उनले भने, ‘हामीले अहिले केही व्यवसायीले पानीजहाज हँदै भारततिरबाट ल्याएका कपडा बिक्री गरिरहेका छौं।’
उनका अनुसार कतिपय व्यवसायी सामान अभावमा पलायन भएका छन्।











