कच्चा शिया नट निर्यात रोक्दै नाइजेरिया, दुई वर्षमा तीन अर्ब डलर आर्जनको योजना



बिजमाण्डू
२०८२ भदौ १४ गते ०६:०० | Aug 30, 2025
कच्चा शिया नट निर्यात रोक्दै नाइजेरिया, दुई वर्षमा तीन अर्ब डलर आर्जनको योजना

लागोस (नाइजेरिया)। नाइजेरिया सरकारले देशलाई परिष्कृत शिया बटर र अन्य स्किनकेयर सामग्रीको विश्वव्यापी आपूर्तिकर्ता बनाउने प्रयासस्वरूप, सौन्दर्य प्रसाधन उत्पादनमा प्रयोग हुने कच्चा शिया नटको निर्यातमा प्रतिबन्ध लगाएको छ।

Tata
GBIME
Nepal Life

शिया नट कटुसजस्तै एक प्रकारको फल हो। यो शिया रुखको बिउ वा फल हो, जो धेरैजसो पश्चिम अफ्रिकामा पाइन्छ। बिउबाट तेल निकालेर शिया बटर बनाइन्छ, जसलाई सौन्दर्य प्रसाधन (लोसन, क्रीम, श्याम्पु, कन्डिसनर) र स्किनकेयर उत्पादनमा मुख्य सामग्रीका रूपमा प्रयोग गरिन्छ।

उपराष्ट्रपति कासिम सेत्तिमाका अनुसार उक्त प्रतिबन्ध तत्काल लागू हुनेछ र ६ महिनापछि पुनरावलोकन गरिनेछ।

नाइजेरिया पछिल्ला दुई वर्षमा शिया नटको निर्यातमा प्रतिबन्ध वा प्रतिबन्धात्मक नीति अपनाएका पश्चिम अफ्रिकी मुलुकहरू बुर्किना फासो, माली, टोगो, आइभोरी कोस्ट र घानाको सूचीमा थपिएको हो।

‘यो प्रतिबन्धले नाइजेरियालाई कच्चा शिया नटको निर्यातकबाट परिष्कृत शिया बटर, तेल र अन्य उत्पादनहरूको विश्वव्यापी आपूर्तिकर्तामा रुपान्तरण गर्नेछ,’ सेत्तिमाले भने।

उनले थपे, यो निर्णय ‘व्यापारविरोधी नीति होइन, बरु मूल्यवृद्धिमूलक नीति हो, जसले हाम्रो प्रशोधन कारखानाका लागि कच्चा पदार्थ सुनिश्चित गर्ने र ग्रामीण कामदारहरूको आय र रोजगारी बढाउने उद्देश्य राख्छ।’

कच्चा शिया नटलाई पिसेर प्रशोधन गर्दै शिया बटर बनाइन्छ, जुन लोशन, श्याम्पु, कन्डिसनर र मोइस्चराइजरजस्ता उत्पादन निर्माणमा प्रयोग हुने मुख्य तथा विषादीरहित प्राकृतिक तत्व हो।

‘यो स्किनकेयरका लागि सबैभन्दा महत्त्वपूर्ण तत्वमध्ये एक हो, विशेषगरि अहिले धेरै मानिसहरू विषादीरहित स्किनकेयरतर्फ आकर्षित भइरहेका छन्,’ अबुजास्थित छाला रोग विशेषज्ञ जैनब बशिरले भनिन्।

उपराष्ट्रपति सेत्तिमाका अनुसार नाइजेरियाले विश्वबजारमा आपूति हुने शिया नट आपूर्तिको ४० प्रतिशत हिस्सा ओगटेको भए पनि शिया उत्पादनको ६.५ अर्ब डलरको विश्व बजारमा यसको योगदान मात्र १ प्रतिशत छ।

सरकारले यो कदम उत्तरी नाइजर राज्यले अफ्रिकाका सबैभन्दा ठूला मानिएका शिया बटर प्रशोधन कारखाना सञ्चालनमा ल्याएको केही सातापछि चालेको हो।

सरकारी अधिकारीहरुका अनुसार यदि निर्यात प्रतिबन्ध कायम रह्यो भने नाइजेरियालाई छोटो अवधिमा ३० करोड डलर र सन् २०२७ सम्ममा ३ अर्ब डलर आम्दानी हुने अपेक्षा गरिएको छ।

विशेषज्ञहरूले भने यस्तो प्रयास घरेलु उद्योग विकासका लागि थप लगानीसहित हुनुपर्ने बताएका छन्।

‘प्रतिबन्धले सरकारको प्राथमिकता आपूर्तिको खाडललाई सम्बोधन गर्नु हो भन्ने देखाउँछ। तर निर्यात प्रतिबन्धले केवल हालको उत्पादनलाई नाइजेरीयाका प्रशोधनकर्ताका लागि मात्र सुरक्षित गर्न धेरै गर्न सक्दैन,’ लागोसस्थित जोखिम परामर्श फर्म एसबीएम इन्टेलिजेन्सका साझेदार इक्मेसिट एफ्फिओङले एपीसँग भने।

यो कदम नाइजेरियाका राष्ट्रपति बोला टिनुबुको लामो समयदेखि रहेको व्यापार नीतिसँग विपरीत देखिएको छ, जसअन्तर्गत उनले इन्धन र विद्युतजस्ता अत्यावश्यक वस्तुमा अनुदान हटाउँदै देशलाई स्वतन्त्र बजार अर्थतन्त्रको रूपमा स्थापित गरेका छन्। टिनुबुले देशको मुद्रा स्वतन्त्र राखेका छन् र अघिल्लो सरकारले दर्जनौं वस्तुहरूको आयातमा लगाएको प्रतिबन्ध पनि हटाएका छन्। (एपी)