नेपाल भ्रमण वर्ष २०२० लक्षित प्रचार स्थगित, ‘सरकारको ध्यान अब आन्तरिक पर्यटन प्रवर्द्धनमा’



बिजमाण्डू
२०७६ फागुन १७ गते १८:५७ | Feb 29, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम स्थगित गरिएको छ। 

कोरोना भाइरस (कोभिड—१९) ले विश्वका धेरै देशहरुमा असर गरिरहेका बेला नेपाल सरकारले विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार विदेशमा हुने प्रचारप्रसारका काम स्थगित गरी आन्तरिक पर्यटन प्रवर्द्धनको काममा सरकार केन्द्रीत भएको छ। परिस्थिति अनुकूल नहुँदासम्म आन्तरिक पर्यटनलाई जोड दिँदै नीतिहरु अगाडि बढाउने तयारी मन्त्रालयले गरेको उनले बताए। 

कोरोनाका कारण नेपाल भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यलाई असर गरेको उनले बताए। विश्व बजार कोरोनाबाट प्रभावित बन्दै गएको सन्दर्भमा आएका सुझावहरुलाई मध्यनजर गर्दै तत्काल विदेशमा हुने प्रचारप्रसारका कार्यक्रम स्थगित गरिएको हो। 

मन्त्री भट्टराईले भने, ‘अब विदेशमा हुने पर्यटन प्रचारप्रसारका कामलाई केही समय स्थगन गर्दै हामी देशभित्रको पर्यटन प्रवर्द्धनको काममा बढी केन्द्रीत हुन्छौं। आन्तरिक पर्यटनमा जोड दिँदै नीतिहरु अगाडि बढाउँछौं। जब परिस्थिति अनुकूल हुन्छ, सन्त्रासहरु हट्दै जान्छन् त्यसपछि हामी फेरि सक्रियताका साथ भ्रमण वर्षको प्रवर्द्धनात्मक काममा अगाडि बढ्छौं।’

कोरोनाले विश्वका शक्ति राष्ट्रहरुको व्यापार व्यवसाय, उद्योगधन्दामा पनि असर गरेको उनले बताए। भ्रमण वर्ष २०२० लाई भव्य रूपमा मनाउन र लक्ष्यअनुसार पर्यटक भित्र्याउन विभिन्न माध्यमबाट प्रचारप्रसारका कामहरु अगाडि बढे पनि नयाँ वर्ष २०२० सुरु भएसँगै चीनको वुहानबाट देखा परेको कोरोनाका कारण प्रभावित हुँदै गएको थियो। 

वर्षको सुरुदेखि नै चीनबाट आउने पर्यटकको संख्यामा कमी आएको थियो। नेपालमा कोरोनाको प्रभाव नदेखिएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमा नाकाहरुमा सरकारले कडाई गरेको छ। मन्त्री भट्टराईले विमानस्थल र सीमा नाकाहरुमा आवश्यक उपकरणसहित स्वास्थ्यकर्मीको टोली खटाइएको बताए। 

सरकारले दुई हप्ताअघि चीनको प्रभावित क्षेत्र वुहानबाट १७५ जना नेपाली विद्यार्थीहरुलाई उद्धार गरी स्वदेश ल्याएको थियो। उनीहरुमा अहिलेसम्म  कोभिड-१९ को संक्रमणका लक्षण भने देखिएको छैन। शनिबार (आज) खरिपाटी र नगरकोट क्वारेन्टाइनमा राखिएका १९३ जनाको थ्रोट स्वावको नमुना परीक्षणका लागि संकलन गरिएको छ। रिपोर्ट नेगेटिभ देखिएमा सबैलाई क्वारेन्टाइनबाट निकालिनेछ। 

कोरोना प्रभावित मुलुकहरुमा पर्यटन आवतजावतमा मात्रै नभएर व्यापार व्यवसाय, औषधि उत्पादन, कच्चा पदार्थ आयात निर्यातमा पनि असर गरेको छ। कतिपय ठाउँमा हप्तौँदेखि विद्यालयहरु समेत बन्द छन्।