काठमाडौं। नेपालले निर्यातका लागि स्वीकृति पाएको विद्युतको परिमाण ११३० मेगावाट पुगेको छ।
भारतले बिहीबार नेपालका थप २ जलविद्युत आयोजनाको ८० मेगावाट विद्युत खरिद गर्न सहमति दिएपछि नेपालले निर्यातको स्वीकृति पाएको विद्युत ११३० मेगावाट पुगेको हो।
त्यसमध्ये १०९०.९ मेगावाट भारत र ४० मेगावाट भारतमा निर्यातका लागि नेपाल विद्युत प्राधिकरणले स्वीकृति पाएको हो।
मेवा खोलाको ४८.५ र करुवा सेती हाइड्रोपावरको ३१.०४ मेगावाट बिजुली अगस्ट २१ देखि २०२६ को अक्टोबर ३० सम्म निर्यातका लागि अनुमति पाएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले यसअघि साउन २६ गते २०० मेगावाट विद्युत निर्यातका लागि भारतको स्वीकृति पाएको थियो।
प्राधिकरणले स्वीकृति पाएको परिमाणमा भने विद्युत निर्यात गर्न सकिरहेको छैन। हाल दैनिक ८०० देखि ९०० मेगावाटको बीचमा बिजुली निर्यात गरिरहेको प्राधिकरणले जनाएको छ।











