काठमाडौं। नेपाल ओलम्पिक कमिटीको तदर्थ समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै ध्रुवबहादुर प्रधानको संयोजकत्वमा ९ सदस्यीय समिति सार्वजनिक गरेको छ।
कमिटीले आफूहरुनै आईओसीबाट मान्यताप्राप्त कमिटी भएको भन्दै जीवनराम श्रेष्ठको नेतृत्वमा रहेको कमिटी ‘नक्कली कमिटी’ भएको दाबि गरेको छ। उनीहरुले अवैधानिक निर्वाचन गरेर विधानविपरित काम गरेको आरोप लगाए।
यसअघि तदर्थ समितिका प्रवक्ता समिम मिया अन्सारीले जारी गरेको विज्ञप्तिमा एनओसीका पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा कमिटी बनाएको भने पनि यसको सदस्यबारे खुलाइएको थिएन। यो कमिटीमा संयोजक प्रधान रहँदा प्रवक्ता समिम मिया अन्सारी र सदस्यहरुमा राजीव विक्रम शाह, सुनिल श्रेष्ठ, निलेन्द्रराज श्रेष्ठ, पुष्पदास श्रेष्ठ, अनिल शर्मा, बृजेन्द्र हमाल र रविराज राजकर्णिकार छन्।
पत्रकार सम्मेलन गरे पनि कमिटीका अध्यक्षले प्रश्नहरुको स्पस्ट जवाफ दिन सकेनन्। अन्तर्राष्ट्रिय मान्यता, खेलाडीहरुको सहभागिता, तदर्थ समिति गठनको कानुनी आधारलगायतका विषयमा गोलमटोल जवाफ दिए।
‘हामीलाई कसैको मान्यता चाहिँदैन। हामीलाई राष्ट्रिय संघहरुको मान्यता छ। सरकारले अहिले चिनेको हामीलाई मात्र हो।’ उनले भने।
मङ्गलबार सातदोबाटोस्थित ओलम्पिक भवनमा प्रबेस गरेको थियो। ओलम्पिक कमिटीको चुनावताका युवा तथा खेलकुद मन्त्रालय र जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटी बिच बिवाद चुलिएको थियो। सरकारले त्यसबेलै ओलम्पिक भवनमा ताला लगाएको थियो।
मन्त्रालय र राखेपले रोक्न खोज्दाखोज्दै जीवनराम श्रेष्ठले अनलाइनबाट चुनाव गराउदै तेस्रो कार्यकालका लागि अध्यक्षमा चुनिएका थिए। खेलकुद विकास ऐन अनुसार दुइ कार्यकालमात्र अध्यक्ष हुन पाउनेमा ओलम्पिकको बिधान संसोधन गर्दै तेस्रो कार्यकालका लागि चुनिए।
जीवनरामले अन्तराष्ट्रिय समर्थन जुटाए पनि राखेप र मन्त्रालयले वैधता दिएन। बरु, राखेप र मन्त्रालयको संकेतमा तदर्थ समिति गठन गरियो।
श्रेष्ठको नेतृत्वमा रहेको ओलम्पिक कमिटीले यसअघि नै विज्ञप्ति निकाल्दै नेपालमा आफ्नो नेतृत्वको कमिटीमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त कमिटी रहेको दाबि गरिसकेको छ। साथै, तदर्थ समितिलाई आफ्नो र अन्तर्राष्ट्रिय संघको लोगो प्रयोग नगर्न चेतावनी दिइसकेको छ।











